हेनरी बेल्जियमका सहायक प्रशिक्षक


ब्रसेल्स, (एजेन्सी) ।

फ्रान्सेली स्टार खेलाडी तथा प्रशिक्षक थिएरी हेनरी बेल्जियम राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

बेल्जियम फुटबल महासंघले हेनरीलाई राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो । महासंघका अनुसार हेनरीले अब सन् २०२२ को विश्वकपसम्म बेल्जियम टिमको सहायक प्रशिक्षकको भूमिकामा काम गर्नेछन् । उनले टिमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजको सहायकको रूपमा काम गर्नेछन् ।

यसअघि, हेनरीले बीबीसीका फुटबल विश्लेषकका रूपमा काम गरेका थिए । त्यहाँबाट राजीनामा दिएर उनी बेल्जियम टिमको प्रशिक्षक टोलीमा आबद्ध भएका हुन् । हेनरी बेल्जियम टोलीसँग आबद्ध भएको यो पहिलोपटक भने होइन । यसअघि, उनले अगस्ट २०१६ मा पनि मार्टिनेज र तत्कालीन सहायक प्रशिक्षक ग्रिम जोन्सको साथ दोस्रो सहायक प्रशिक्षकको रूपमा राष्ट्रिय टोलीमा काम गरेका थिए । त्यतिबेला हेनरी सहायक प्रशिक्षकको रूपमा रहँदा बेल्जियम २०१८ को फिफा विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो ।

त्यसपछि उनी अक्टोबर २०१८ मा मोनाको पुगेका थिए । जहाँ उनको टोलीले चार खेल मात्र जितेर रेलिगेसनमा पुगेपछि उनलाई बर्खास्त गरिएको थियो । त्यसपछि २०१९ को नोभेम्बरमा उनी मोन्ट्रियलमा पनि आबद्ध भएका थिए ।