पुरानै क्लबमा फर्कंदा रोनाल्डो भावुक बने


लन्डन, (एजेन्सी) ।

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएपछि ‘फर्कें म जहाँको हुँ’ भन्दै भावनात्मक प्रतिक्रिया दिएका छन् ।

रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा फर्केर क्लबका पूर्वमेनेजर सर एलेक्स फेर्गुसनलाई समर्पित गरेको पनि बताए । रोनाल्डोले उनको इन्स्टाग्राममा लेखेका थिए—हरेकले मलाई चिन्छन्, मेरो म्यानचेस्टर युनाइटेडका लागि नटुंगिने मायाबारे पनि थाहा छन् । पहिले पनि यसै क्लबमा समय बिताएँ, अहिले हामी सबै मिलेपछि सुनौलो अक्षरले इतिहास लेखिएको छ । ओल्ड ट्राफोर्डमा फर्कने भनेर विश्वभरि घोषणा भएको देखेपछि मैले मेरा भावनाहरू व्यक्त गर्न पनि सकेको छैन । यो सपना साँचो भएको जस्तै हो ।

पाँचपटकको बेलन डीअर विजेता रोनाल्डोले पूर्वमेनेजर फेर्गुसनबारे पनि बताए । उनले आफ्नो धर्म पिता मानिएको फेर्गुसनबारे भने—‘म जहाँको हुँ त्यही फर्कें । सर एलेक्स यो तपाईंका लागि हो ।’

म्यानचेस्टर युनाइटेडले ३६ वर्षीय रोनाल्डोलाई क्लबमा पुनः फर्काएको हो । यसका लागि शुरूमा १५ मिलियन युरो तिरिएको छ । दुई वर्षको अनुबन्ध सम्झौताअनुसार अर्को वर्ष अवधि बढाउन विकल्प पनि राखिएको छ । फेर्गुसन मेनेजर हुँदा रोनाल्डोले ओल्ड ट्राफोर्डमा समय बिताएका थिए । उनले २००९ मा रियल मेड्रिड जानुअघि म्यानचेस्टर युनाइटेडका लागि विभिन्न प्रतियोगितामा गरी २ सय ९२ खेल खेल्दै कुल १ सय १८ गोल गरेका थिए । प्रिमियर लिगमा भने उनको गोलसंख्या ८४ रहेको छ । दोस्रो स्पेलमा उनले प्रिमियर लिगमा १ सय गोलसंख्या पुर्‍याउन सक्नेछन् ।

हालका मेनेजर ओले गनार सोल्साएरले रोनाल्डोलाई क्लबमा फर्काउन पाउँदा खुसी भएको बताए । उनले भने—‘क्रिस्यिानोका बारे बयान गर्न कुनै शब्द छैन । उनी अदभूत खेलाडी मात्रै नभएर महान् व्यक्तिसमेत हुन् । उनले सबैमाथि प्रभाव पार्नेमा कुनै शंका छैन । टिममा उनको अनुभवले युवा खेलाडीको लागि प्रमुख हुनेछ ।

रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट ६ वर्ष खेलेका थिए । सन् २००३ देखि २००९ सम्मको स्पेलमा उनले तीनपटक प्रिमियर लिग, एकपटक च्याम्पियन्स लिग, दुई वटा लिग कप र एकपटक एफए कप जितेका थिए । साथै, फिफा क्लब वल्र्ड कप र कम्युनिटी शिल्ड पनि जितेका थिए ।

रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा दोस्रो स्पेलको डेब्यु न्युक्यासल युनाइटेडविरुद्ध ११ सेप्टेम्बरमा हुनेछ । रोनाल्डोले ७ अंक अंकित जर्सी लगाउने भने पनि यो जर्सी हाल एडिसन काभानीले लगाइरहेका छन् । यदि उरुग्वेका स्ट्राइकर काभानीले दिएमा रोनाल्डोले पाउने पनि जनाइएको छ । अर्को डेनियल जेम्स लिड्स युनाइटेडमा गएपछि उनको २१ अंक अंकित खालि भएको छ । यो जर्सी काभानीले लगाउन सक्ने क्लबले जनाएको छ । तर, काभानीलाई बार्सिलोनाले अनुबन्ध गर्न प्रयास भइरहेको छ ।
रोनाल्डोको यु टर्न

अगस्ट १७ सम्म रोनाल्डो रियल मेड्रिड, पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर सिटीमध्ये एक क्लबमा जाने कुरा चलिरहेको थियो । युभेन्ट्सबाट उनी अलग हुने समाचार बरोबर आइरहेको पनि थियो । पछि युभेन्ट्सले रोनाल्डोलाई बेच्ने भनेर भनेपछि सबैभन्दा पहिले म्यानचेस्टर सिटीसँग कुरा भएको थियो । रियलका मेनेजर कार्लो एन्सेलोटीले उनलाई अनुबन्ध नगर्ने भनेर आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

तर, युभेन्ट्सका मेनेजर मेसिमिलियानो एलेग्रीले रोनाल्डोले युभेन्टस छाड्ने इच्छा नजनाएको र सिरी ए टिममै बस्ने बताएर एक तर्फबाट रोनाल्डोको ट्रान्सफरमा पूर्णविराम लगाएका थिए । यसो भनिरहेका एलेग्रीले नयाँ सिजनको खेलमा रोनाल्डोलाई स्टार्टिङ लाइनबाट हटाए । उनलाई युडिनेजविरुद्धको खेलमा वैकल्पिक खेलाडीको रूपमा प्रयोग गरेका थिए । यसपछि युभेन्टसले रोनाल्डोलाई भनेको थियो कि उनीहरूले उनलाई बेच्न चाहिरहेका छन् ।

रोनाल्डोका एजेन्ट जोर्ज मेन्डेसले युरोपका केही प्रमुख क्लबहरूसँग कुरा गरे, जसमा म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन थिए । तर, म्यानचेस्टर युनाइटेडको चर्चा कहीँ पनि भएको थिएन । अगस्ट २७ शुक्रबार युभेन्ट्सका मेनेजर एलेग्रीले रोनाल्डोले युभेन्ट्सलाई क्लबमा रहने कुनै इच्छा नभएको बताएको खुलासा गरे । म्यानचेस्टर सिटीका मेनेजर पेप गार्डिओलाले रोनाल्डोको लागि ताकेता गरेका थिए ।

तर, शुक्रबारकै दिन विश्व नै छक्क पर्ने खबर आयो कि म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई सम्झौता गर्न निकट पुगेको घोषणा गर्‍यो । यो यू टर्नले सबै जना चकित पनि भए तर, म्यानचेस्टर युनाइटेडका समर्थक भने एकदमै खुसी भएका छन् । उनको क्लबसँग आबद्ध भएको घोषणासँगै म्यानचेस्टर युनाइटेडको आधिकारिक सामाजिक सञ्जाल क्र्याससमेत भएको थियो ।