ऐतिहासिक बस्तीलाई सांस्कृतिक क्षेत्र घोषणा गरिने


सुनील महर्जन, काठमाडौं ।

कीर्तिपुर नगरपालिकाले नगरका विभिन्न ऐतिहासिक बस्तीलाई सांस्कृतिक क्षेत्र घोषणा गर्ने तयारी अघि बढाएको छ ।

नगरपालिकाभित्रका कीर्तिपुर, पांगा, नगां, च्वबाहाः, भाजंगाः र गांचा क्षेत्र गरी ६ वटा ऐतिहासिक बस्तीलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्ने तयारी अघि बढाएकोे मेयर रमेश महर्जनले बताउनुभएको छ ।

सांस्कृतिक नगर घोषणासम्बन्धी अवधारणा, प्रक्रियालगायत विषय समेटिएर नगरपालिकाले सांस्कृतिक संरक्षित क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७८ राजपत्रमा समेत प्रकाशित गरिसकेको छ । सोहीअनुरुप तयारी गर्दै अघि बढ्ने बताउँदै मेयर महर्जनले भन्नुभयो– ‘सांस्कृतिक नगर घोषणाका लागि ऐन महत्व दस्तावेज हो । यसैमा टेकेर आउँदो दशैंसम्ममा घोषणा गर्ने लक्ष्य रहेको छ ।’

कीर्तिपुरका बुद्धिजीवी, सांस्कृतिक अधिकारकर्मीलगायतले कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक नगरी घोषणा गर्नुपर्ने माग गर्दै आएकोमा नगरपालिकाले सो तयारी अघि बढाएको हो । कीर्तिपुरको नवौं नगर सभाले सांस्कृतिक क्षेत्र घोषणा गर्ने र त्यससम्बन्धी ऐन राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

ऐन राजपत्रमा प्रकाशित गर्नुपूर्व नगरका बुद्धिजीवी, सांस्कृतिक अधिकारकर्मीले नगरलाई सांस्कृतिक नगरी घोषणा गर्नुपर्ने विषयमा नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएको थियो । त्यस सम्बन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउन नगरपालिकाले श्रीकृष्ण महर्जन (कीर्तिपुर) को संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको थियो । सदस्यहरूमा रामभोला महर्जन (पांगा), उज्ज्वल महर्जन (चोभार), सुवर्ण महर्जन (नगां) र नरेश श्रेष्ठ (कीर्तिपुर) रहनुभएको थियो । कार्यदललाई सो सम्बन्धमा अध्ययन गरी दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी तोकिएको थियो ।

सो कार्यदलले विषय विज्ञसँग छलफल, विभिन्न स्थानीय तह अनुभवबारे अध्ययन गरी चरणबद्ध रूपमा विभिन्न कार्यक्रम आयोजना गरी सुझाव संकलन गरेको थियो । कार्यदलका सदस्यले टोखा नगरपालिकामा अभ्यास गर्दै आएको सांस्कृतिक संरक्षित क्षेत्रको व्यवस्थादेखि संस्कृति सम्पदा संरक्षणका लागि भक्तपुर नगरपालिकाले गर्दै आएको कार्यबारे स्थलगत अध्ययन पनि गरेको थियो । कानुनविद्, संस्कृतिविद, सञ्चारकर्मी, संस्कृतिकर्मी लगायतसँग छलफल गर्दै कार्यदलले नगाउँ र चोभारमा सरोकारवालासँग पनि छलफल गरेको थियो । कार्यदलले कोरोना महामारीका कारण निषेधाज्ञाबीच कीर्तिपुर, पांगालगायत क्षेत्रका सरोकारवालासँग भर्चुअल माध्यमबाट छलफल गरी सांस्कृतिक संरक्षित क्षेत्र घोषणाका लागि प्रतिवेदन बुझाइएको थियो र सोही आधारमा प्रस्तावित ऐन तर्जुमा गरिएको थियो ।

कीर्तिपुरका उपमेयर सरस्वती खड्काले नगरपालिकाले अभ्यास गर्न खोजेको यो कार्यलाई सफल बनाउन सबैको सकारात्मक भूमिका निकै महत्वपूर्ण हुने बताउनुभयो ।

ऐनमा ती क्षेत्रहरूमा उप–परिषद् र उप–परिषद्बाट उप–समिति गठन गर्ने कुरा उल्लेख गरिएको उप–परिषद्का लागि सम्बन्धित क्षेत्रका प्रथाजन्य संस्था गुठीका प्रतिनिधिहरू सदस्य रहने र सम्बन्धित वडा अध्यक्ष संरक्षक रहने व्यवस्था गरिएको छ । त्यसै गरी ६ वटा उप–परिषद्ले गठन गर्ने समितिका सदस्यहरू नगर परिषद्का सदस्य रहने र नगर परिषद् सदस्यहरूबाटै नगरस्तरको समिति निर्माण हुने कुरा उल्लेख गरिएको छ । सांस्कृतिक संरक्षणका लागि संघीय संरचनाको मोडलमा ऐनमा व्यवस्था गरिएको बताइएको छ ।

सो घोषणाले कीर्तिपुरको ऐतिहासिक सम्पदा, अमूर्त संस्कृति संरक्षण, प्रथाजन्य गुठी, कानूनलाई संरक्षण गर्न ठूलो टेवा पुर्‍याउने बताउँदै संयोजक श्रीकृष्ण महर्जनले भन्नुभयो–‘ स्थानीय तहले ऐतिहासिक बस्ती संरक्षण गर्नमा प्रभावकारी रूपमा काम गर्न सक्दछ भन्ने कुराको उदाहरण यसको घोषणा र त्यसको कार्यान्वयबाट स्पष्ट हुनेछ ।’