मेसीको डेब्युमा पीएसजीको जित


पेरिस ।

विश्व फुटबलका सुपरस्टार लियोनल मेसीले फ्रेन्च क्लब पीएसजीमा डेब्यु गरेको खेलमा जित हासिल गरेका छन् ।
व्यग्र प्रतीक्षाबीच उनले आइतबार राति रेइम्जविरुद्धकोे खेलबाट डेब्यु गरेका हुन् ।

पीएसजी रेइम्जको घरेलु मैदानमा उत्रिँदा मेसीले नयाँ क्लबका लागि पहिलो म्याच खेल्दै २–० को जित आत्मसात गरेका हुन् । ३० नम्बर जर्सी लगाएका मेसी खेलको ६६औं मिनेटमा १० नम्बर जर्सीधारी नेयमारको स्थानमा मैदान छिरेका थिए ।

बहुप्रतीक्षित मेसीको डेब्यु खेलमा पीएसजीका युवा स्टार क्लियन एमबाप्पे चम्किएका थिए । उनले मेसीको स्वागतमा शानदार प्रदर्शन गर्दै टिमलाई जिताउनका लागि दुई गोलको योगदान गरे ।

उनकै गोलको मद्दतमा टिमले यो सिजन घरेलु लिगमा लगातार चौथो जित सम्भव तुल्यायो । मेसी खेलको ६६औं मिनेटमा बेन्चबाट मैदान छिर्नुभन्दा अघि नै एमबाप्पेले दुई गोल गरिसकेका थिए ।

एमबाप्पेले पहिलो गोल खेलको १६औं मिनेटमा एन्जल डी मारियाको पासमा गरेका थिए । डी मारियाको पासमा एमबाप्पेले हेडिङमार्फत् निकै दर्शनीय गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले दोस्रो गोल खेलको ६३औं मिनेटमा गरे । यसपटक असरफ हाकिमीको क्रस पासमा एमबाप्पेले वान टचमै बललाई सोझै जाली चुमाएका थिए ।

खेलको ६३औं मिनेटमा एमबाप्पेका दोस्रो गोलपछि बाँकी समयमा दुवै तर्फबाट थप गोल भएन र खेल पीएसजीले २–० ले जित्यो । खेलको ६६औं मिनेटमा बेन्चबाट मैदान छिरेका मेसीले निर्धारित २४ मिनेट र इन्जुरीसमेत गरी डेब्यु खेलमा कुल ३० मिनेट खेलेका थिए ।