रिभाइभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन हुने


नेपाल समाचारपत्र, काठमाडौं ।

रिभाइभ लिजरपार्कको स्थापनाको उपलक्ष्यमा ‘प्रथम रिभाइभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’ आयोजना हुने भएको छ । कोभिडबाट प्रभावित खेललाई यस प्रतियोगिताले केही रिफ्रेस बनाउनेछ ।

असोज १ देखि ५ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा पुरुष एकल र युगल, महिला एकल, भेट्रान्स युगल गरी चार विधामा खुल्ला प्रतिस्पर्धा गराइनेछ । च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरू, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागीय टिम, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आइरहेका विदेशी खेलाडीहरूलाई पनि सहभागिता गराइनेछ । च्याम्पियनसिपमा ३०० बढी खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएका छन् ।

करिब १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । नगद पुरस्कारका विषयमा जतिसक्दो वृद्धि गरिने भएका कारण अहिले नै पुरस्कारको राशी नतोकिएको आयोजकले जनाएको छ ।

सोही क्रममा नेपालका लागि अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ ।

आयोजकको लगनखेलस्थित आफ्नै कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपका दौरान कोभिड–१९ को उच्च संक्रमणलाई ध्यानमा राखी सम्पूर्ण सरकारी मापदण्डलाई पालना गर्दै खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियल र अत्यावश्यक व्यक्तिहरूलाई मात्र हलमा प्रवेशको व्यवस्था गरिनेछ ।

‘हाम्रो उद्देश्य भनेको केवल नाफा कमाउनु मात्र नभई नेपालीहरूलाई शारीरिक, मानसिकरूपमा स्वस्थ राख्नु तथा नेपाली खेलकुद क्षेत्रलाई उकास्न विभिन्न राष्ट्रियस्तरका प्रतियोगिताहरू आयोजना तथा बालबालिकाहरूलाई उच्चस्तरको प्रशिक्षणको व्यवस्था गरी नेपाललाई अन्तराष्ट्रिय पदक दिलाउने खेलाडीहरू उत्पादन गर्नु र निजी क्षेत्रबाट नेपाल सरकारको खेलकुद विकासको अभियानलाई सहयोग पु¥याउने उद्देश्य रहेको हो’–अध्यक्ष शुक्र पाख्रिनले बताए ।

करिब १८ करोड लगानी रहेको रिभाइभ लिजर पार्क हेल्थ क्लबको कम्पाउन्डभित्र ब्याडमिन्टन हल, जोडो, कराते, उसु हल, स्विमिङपुल, जिम, जुम्बा हल, साउना स्टिम, मसाज थेरापी, सैलुन पार्लरलगायत बीएन्डबी. रुम, सेमिनार, पार्टी हलसहित रेस्टुरेन्टसमेत रहेको छ ।