ईपीएलमा पाको उमेरका विदेशी खेलाडी


फिरोज राजोउपाध्याय ,काठमाडौं ।

आगामी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा खेल्न विदेशी खेलाडी निकै उत्साहित देखिएका छन् । ईपीएलका फ्रेन्चाइजी टोलीहरूले धमाधम विदेशी खेलाडीलाई अनुबन्ध पनि गरिरहेका छन् । ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म त्रिवि मैदानमा हुँदै छ ।

यसैका लागि आफ्नो टोली बलियो पार्न फ्रेन्चाइज टोलीले तीव्ररूपमा तयारी अगाडि बढाइरहेका छन् । अहिले जति पनि विदेशी खेलाडी ल्याउँदै छ उनीहरूमा प्रायःजसो पाको उमेरकै बढी खेलाडी रहेका छन् ।

यसै क्रममा सोमबार विराटनगर वारियर्सले जिम्बावेका स्टार खेलाडी सिकन्दर रजालाई अनुबन्ध गरेको छ । रजाको उमेर ३५ वर्ष भइसकेको छ । रजा विराटनगर वारियर्सका पहिलो विदेशी खेलाडीसमेत हुन् । विराटनगर वारियर्स २०१७ अर्थात् दोस्रो संस्करणको उपाधि विजेतासमेत हो ।

टोली अर्को उपाधि जित्न कम्मर कसेको छ । उक्त संस्करणमा उपाधि जित्दा पारस खड्काको उत्कृष्ट प्रदर्शन रहेको थियो । त्यसैले, टोलीले पारसको खालिपन भर्न जिम्बावेका अलराउन्डर रजालाई टोलीमा समावेश गरेको छ ।

रजा जिम्बावे टोलीका टी–२० कप्तान पनि हुन् । उनीसँग टी–२० क्रिकेटमा जिम्बावेका लागि १ सय १७ खेल खेलेको अनुभव छ । उनले टी–२० क्रिकेटमा १२ अर्धशतकसहित २ हजार ७५ रन जोडेका छन् र उनले ४४ विकेट पनि हात पारेका छन् ।

त्यसैले, उनको आगमनले विराटनगर वारियर्सले ब्याटिङ र बलिङमा टेवा मिल्ने आस गरेको छ । यसअघि, उनले सन् २०१८ मा सम्पन्न ईपीएलमा काठमाडौं किंग्स ११ बाट खेल्नुपर्ने थियो । तर, विशेष कारणवश उनले सो प्रतियोगितामा खेल्न पाएका थिएनन् ।

यस्तै, ईपीएलका अर्को फ्रेन्चाइजी टोली चितवन टाइगर्सले श्रीलंकाका ३६ वर्षीय खेलाडी सिक्कुगे प्रसन्नालाई गत बिहीबार टोलीमा भित्र्यायो । प्रसन्ना केही वर्षदेखि खेलमा रहेका छैनन् ।

उनले अन्तिमपटक श्रीलंका लागि २०१९ मा खेलेका थिए । उनले श्रीलंकाका लागि टी–२० क्रिकेटमा कुल १ हजार ७ सय ७७ रन जोड्नुका साथै १ सय ३५ विकेट लिएका छन् ।

चितवन टाइगर्सले अफगानिस्तानका ब्याटसम्यान मोहम्मद सहजादलाई पनि टोलीमा ल्याएको छ । उनको उमेर पनि ३३ वर्ष कटिसकेको छ । तर, चितवनले ल्याएका अन्य विदेशी खेलाडीमा पाकिस्तानका अलराउन्डर डानिस अजिज २५ वर्ष र मलेसियाका विरानदीप सिंह २२ वर्षका हुन् ।

ईपीएलको अर्को फ्रेन्चाइजी टोली काठमाडौं किंग्स इलेभेनले पाकिस्तानका अलराउन्डर शाहिद अफ्रिदीलाई अनुबन्ध गर्न सफल भयो । शायद ईपीएलमा उनी सबैभन्दा पाको खेलाडीको रूपमा परिचित हुन सक्नेछन् । उनी अहिले ४५ वर्षका हुन् ।

उनको ब्याटिङ विगतमा विस्फोटक रहेको थियो, तर, उमेर बढ्दो भएको अवस्थामा उनले पहिलेकै आक्रमक ब्याटिङ गर्नेमा शंका नै हुनेछ । हालै खेलिएका खेलमा उनको प्रदर्शन त्यति सन्तोषजनक रहेको छैन ।

यसको बाबजुद उनको नामले समेत विपक्षी बलरलाई बलिङ गर्न पसिना छुटाउने भने पक्का छ र उनका समर्थकहरूका लागि उनी मैदानमा आउनु नै खुसीको कुरो हुनेछ ।

यस्तै, भैरहवा ग्लाडिएटर्सले ल्याएको विदेशी खेलाडीमा पनि पाको उमेरकै रहेका छन् । भैरहवा ग्लाडिएटर्सले अनुबन्ध गरेको वेस्ट इन्डिजका ड्वेन स्मिथ हाल ३९ वर्षमा टेकेका छन् । उनी विगतमा खतरनाक बलिङ र ब्याटिङ गर्न माहिर छन् । तर, वर्तमान अवस्थामा सायद उमेरको कारणले उनको प्रदर्शन निकै खस्केको छ ।

यस्तै, भैरहवाबाट खेल्नका लागि आउने विदेशी खेलाडीमा श्रीलंकाका पूर्वब्याटसम्यान जीवन मेन्डिस र दिनेश चन्डिमल रहेका छन् । मेन्डिसको उमेर ३८ वर्षको हो भने चन्डिमल ३१ वर्षमा रहेका छन् ।

गेल नेपालमा नआउने ईपीएलका अर्काे फ्रेन्चाइजी टोली पोखरा राइनोजले विश्वकै सबैभन्दा खतरनाक ब्याटसम्यान क्रिस गेललाई अनुबन्ध गरेको थियो । वेस्ट इन्डिजका यी ४१ वर्षीय खेलाडीले खेल्न पनि सहमति जनाएका थिए ।

तर, गत साउनमा पोखरा राइनोजका निर्देशक दीपेन्द्र चौधरीले गेल नेपालमा खेल्न नआउने पुष्टि गरेका थिए । यो खबरले गेलको छक्का चौकाको वर्षा हेर्न पर्खिरहेका नेपाली समर्थकका लागि नैराश्यता थपिदियो ।

ईपीएलको मिति परिवर्तन भएकोले पनि गेल नेपाल नआउने भएका हुन् । गत चैतमा हुनुपर्ने ईपीएलको मिति कोरोनाको कारण असोजमा सार्नुपरेको हो । गेल असोजतिर विश्वकपमा व्यस्त हुने भएकोले नेपाल आउन नसक्ने जनाए ।

गेल बढ्दो उमेरमा पनि विस्फोटक ब्याटिङ गरिरहेका छन् । हालै मात्र पनि उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा छक्का हान्ने क्रममा साइटस्क्रिनको सिसा फुटाइदिए ।