बाढी पहिरोमा परी तिनको मृत्यु, दुई जना वेपत्ता


किरन धामी, दार्चुला ।

लगातारको वर्षा संगै विभिन्न खोलामा आएको बाढी र पहिरोमा परी जिल्लाका तिन जनाले ज्यान गुमाएका छन्, भने दुई जना वेपत्ता भएका छन् ।गएराति वर्षा संगै खसेको पहिरोमा परी दुहुँ गाउँपालिका–१ बास्पाली भालुखोलाका ६५ वर्षिय नरसिंह महर र उनकी ६० वर्षिय श्रीमती कौशा महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।

राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले उनीहरू पुरिएर मृत्यु भएको उहाले बताउनुभयो ।यस्तै दुहुँ गाउँपालिकाकै वडा नम्बर ५ दुल्लामा बाढीले बगाउदा ५० वर्षिय मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा आएको बाढीले डडाललाई घर सहित बगाएको बताइएको छ । बाढिले घर, जग्गा, पुल पुलेसा, लघु जलविद्युत, पानी घट्ट र पशुचौपापायामा समेत क्षति पुर्याएको उहाले जानकारी दिनुभयो । यता महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका–३ को सिमाना भएर बाग्ने निजाङगाड खोलमा आएको बाढीमा परी दुई जना वेपत्ता भएका छन् ।

बाढीमा परी दुहुँ गाउँपालिका–३ का शेरसिंह कार्की र हरकसिंह कार्की वेपत्ता भएको स्थानीय प्रहरीले जनाएको छ । बाढीले दार्चुला–तिंकर सडकको श्रीबगर स्थित मोटरपुल बगाउनुका साथै दुई वटा झोलुंगे पुल बगाएको छ । श्रीबगर क्षेत्रमा रहेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जपोष्ट कार्यालयको आधा भाग बगाएको छ । सोही क्षेत्रमा रहेका स्थानिय पूर्ण बहादुर बम, नरेन्द्र बहादुर बम, दिपक बम, रणबहादुर बम धिरेन्द्र बम, शेरबहादुर बमको घर बगाएको समेत बगाएको प्रहरीले जनाएको छ ।

श्रीबगर स्थित पसल थापेर बसेका महाकाली नगरपालिका–१ का देव बहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जित बहादुर बमको होटल तथा पसल बगाएको छ । दार्चुला–तिंकर सडकको मोटर पुल बगाएपछि दुहुँ गाउँपालिका र ब्याँस गाउँपालिका संगको सम्पर्क बिच्छेद भएको बताइएको छ । घट्नास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रसका प्रतिनिधिले राहात तथा उद्धार गरिरहेका छन् ।

हेली मार्फत घाइतेको उद्धार

पहिरोमा परी गम्भिर घाइते भएका दुहुँ गाउँपालिका वडा नम्बर ५ का जनकराम पार्की र उजली देवी डडालको हेलिकप्टरद्धारा उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रहमा गृह मन्त्रालयमले नेपाली सेना संग समन्वय गरी उनिहरुको उद्धारका लागी हेलिकप्टरको व्यवस्थापन गरी थप उपचारका लागी धनगढी लगिएको प्रमुख जिल्ला अधिरकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।