इम्पोलीसँग युभेन्ट्स स्तब्ध


रोम, (एजेन्सी) ।

क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछिको पहिलो खेलमै इटालियन क्लब युभेन्ट्स सिरी ‘ए’ मा बढुवा भएको नयाँ टोली इम्पोलीसँग स्तब्ध भएको छ ।

शनिबार राति भएको सिजनको दोस्रो खेलमा युभेन्ट्स आफ्नै घरेलु मैदानमा यसै सिजन मात्रै सिरी ‘ए’ लिगमा बढुवा भएको इम्पोलीसँग १–० गोलअन्तरले स्तब्ध भएको हो । दुई दिनअघि मात्रै रोनाल्डो युभेन्ट्स छाडेर पूर्वक्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए । तर, रोनाल्डोबिनाको पहिलो खेलमै युभेन्ट्स आफ्नै घरेलु मैदानमा पराजित हुन पुग्यो । इम्पोलीसँगको खेलअघि युभेन्ट्स अवे मैदानमा उडिनेससँग बराबरीमा रोकिएको थियो ।

शनिबारको खेलमा शुरुआती १० मिनेटमा किइजाले दुईपटक गोलका लागि प्रयास गरे पनि इम्पोलीका गोलकिपरले त्यसलाई विफल तुल्याइदिए । तर, खेलको २१औं मिनेटमा इम्पोलीका लागि लियान्द्रो मानकुसोले डी–बक्सभित्रबाट गोल गरेर घरेलु टोलीलाई ठूलो झट्का दिएका थिए । क्रस पासबाट बनेको मुभमा मानकुसोले उत्कृष्ट गोल गरेका थिए । अन्ततः सोही गोल नै युभेन्ट्सको हारको कारण बन्यो । यो हारपछि युभेन्ट्सको दुई खेल सकिँदा मात्रै एक अंक भएको छ । इम्पोलीले भने तीन अंक जोडेको छ ।