रोनाल्डो र सोल्सकाएरको १४ वर्षपछि पुनर्मिलन


लन्डन, (एजेन्सी) ।

क्रिस्टियानो रोनाल्डो अहिले म्यानचेस्टर युनाइेडटमा फर्किएका छन् । उनी करिब १२ वर्षपछि ओल्ड ट्राफोर्डमा फर्कंदा उनका साथी खेलाडी ओले गनार सोल्सकाएरसँग पनि भेट भएको छ । उनीहरूले यही क्लबबाट २००३ देखि २००७ सम्म सँगै खेलेका थिए । रोनाल्डो र ओले गनारको मिलन पनि करिब १४ वर्षपछि भएको छ । तर, यसपटक दुवैको पात्र फरक हुनेछ । रोनाल्डो खेलाडीकै रूपमा हुनेछन् भने ओले गनार उनका मेनेजरको रूपमा हुनेछन् ।

क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा सन् २००३ देखि २००९ सम्म खेलेका थिए । रोनाल्डोले ओल्ड ट्राफोर्डमा खेल्दा च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप र लिग कप जितेका थिए । उनले सर एलेक्स फर्गुसनको नेतृत्वमा ६ वर्ष खेले । यसपछि सन् २००९ मा पोर्चुगिज स्टार स्पेनी ला लिगा क्लब रियल मेड्रिडमा लागेका थिए ।

रोनाल्डो पछिल्लोपटक ओल्ड ट्राफोर्डमा मार्च २०१३ मा पुगेका थिए । उनी त्यतिबेला रियल मेड्रिडका प्रमुख खेलाडी थिए । उनको टिमले म्यानचेस्टर युनाइटेडसँग च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को खेल खेलेको थियो । ओल्ड ट्राफोर्डमा विपक्षी टिमका खेलाडी भए पनि त्यहाँका समर्थकले उनलाई स्वागत गरेका थिए । तर, रियललाई जित दिलाउँदा उनले खुसीयाली त्यति भव्यका साथ गरेनन् ।

अहिले फेरि रोनाल्डो ओल्ड ट्राफोर्डमै फर्किएका छन् । अब म्यानचेस्टर युनाइटेडको रातो जर्सीमा उनले खेल्नेछन् । उनको म्यानचेस्टर युनाइटेडका पूर्व मेनेजर फर्गुसनसँग बाबु छोराको सम्बन्ध रहेको छ । रोनाल्डोले म्यानचेस्टर सिटी नरोजेर म्यानचेस्टर युनाइटेड रोज्नुको कारण यही हुन सक्छ । नत्र भने म्यानचेस्टर सिटीले उनलाई अनुबन्ध गर्न लागेकै खबर मिडियामा चर्चा भइसकेको थियो ।

रोनाल्डोकै प्रेरणामा म्यानचेस्टर युनाइटेडले सन् २००८ मा च्याम्पियन्स लिग जितेको थियो । त्यतिबेला उनको उमेर युवाको थियो, तर अहिले उनी ३६ वर्षका भइसकेका छन् । युभेन्टस्बाट उनले गत सिजनमा ३५ गोल गरेका थिए । यसले उनी पाको उमेरमा पनि तन्दुरुस्त रहेको साबित गर्छ । उनले विगतमा म्यानचेस्टर युनाइेटडबाट खेल्दा कुल १ सय १८ गोल गरेका थिए ।

अहिले मेनेजर सोल्सकाएरले रोनाल्डो र जाडोन सान्चो टिममा आएपछि उपाधि जित्न सक्ने सपनासमेत देखिसकेको बताइएको छ । उनले विश्वास गरेका छन् कि रोनाल्डोकै प्रेरणामा म्यानचेस्टर युनाइटेडका युवा प्रतिभावान् खेलाडी मेसन ग्रिनवुड, मार्कस रासफोर्ड र अन्य नयाँ खेलाडीलाई खेल्न उर्जा मिल्नेछ । अर्को रोनाल्डोको आगमनले प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडसँग खेल्न अन्य टिमहरूलाई कडा चुनौती हुनेछ ।

रोनाल्डोको पहिलो खेल

युभेन्ट्स छाडेका रोनाल्डोले आगामी दिनमा दुईवटा विश्वकप क्वालिफायर्स खेल खेल्नेछन् । ७ सेप्टेम्बरमा अजरबैजानमा खेलेपछि उनी ओल्ड ट्राफोर्डमा फर्कनेछन् । उनको म्यानचेस्टर युनाइटेडबाट पहिलो खेल न्युक्यासल युनाइटेडविरुद्ध हुनेछ । पछिल्लोपटक म्यानचेस्टर युनाइटेडका लागि ओल्ड ट्राफोर्डमा न्युक्यासलविरुद्ध खेल्दा उनले ह्याट्रिक गरेका थिए । उक्त खेल म्यानचेस्टर युनाइटेडले ६–० ले जितेको थियो । तर, यसपटक उनले सोही टिमविरुद्ध कस्तो प्रदर्शन गर्नेछन् त्यसमा समर्थकको उत्सुकता बढेको छ ।