रोबर्टको ह्याट्रिकमा बार्यनको जित


बर्लिन, (एजेन्सी) ।

पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले नयाँ सिजनको पहिलो ह्याट्रिक गर्दा बार्यन म्युनिखले जर्मन लिग बुन्डेसलिगामा सानदार जित निकालेको छ ।

शनिबार राति भएको नयाँ सिजनको तेस्रो खेलमा बार्यनले आफ्नो घरेलु मैदानमा हर्था बर्लिनलाई ५–० को फराकिलो गोलअन्तरमा हराएको हो । बार्यनको जितमा ह्याट्रिक गरेका लेवान्डोस्की नायक बने । बालोन डि ओरको दौडमा रहेका पोलिस फरवार्डले नयाँ सिजनको तेस्रो खेलमा सिजनको पहिलो ह्याट्रिक गरेका हुन् । यो सिजनमा ब्लकबस्टर शुरुआत गरेका उनले मात्रै चार खेलबाट ७ गोल र दुई असिस्ट गरिसकेका छन् ।

आफ्नो घरेलु मैदानमा बार्यनले हर्थामाथि एकपक्षीय बनाएको खेलको छैटौं मिनेटमा थोमस मुलरले लो सटमा शानदार गोल गरेका थिए । उनको गोलमा अल्फोन्सो डेभिसले असिस्ट गरेका थिए । त्यसपछि ३५औं मिनेटमा लेवान्डोस्कीले पहिलो गोल गर्न सफल भए । उनको गोलमा सर्जी गेनाब्रीले भूमिका खेलेका थिए ।

त्यसपछि, खेलको ४९औं मिनेटमा बार्यनका लागि युवा खेलाडी जमल मुसियालाले गोल तेस्रो गोल गरे । यसपटक थोमस मुलरको पासमा उनले डीबक्स अघिबाट सजिलै गोल गर्न सफल भए । सो गोलपछि खेलको ७०औं मिनेटमा लिरोए सानेको पासमा लेवान्डोस्कीले गोल गर्दै खेल ४–० बनाए । लेवान्डोस्की त्यत्तिमै रोकिएनन् । खेलको ८४औं मिनेटमा उनले हेडिङमार्फत् अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गर्दा टिमले ५–० को जित निकाल्यो ।

ताजा स्थितिमा लेवान्डोस्की बुन्डेसलिगाका सर्वाधिक गोलकर्ता हुन् । उनले यो सिजन बार्यनका हरेक खेलमा गोल गरेका छन् । जर्मन सुपर कपको उपाधि जित्दा उनले दुई गोल र एक असिस्ट गरेका थिए । नयाँ सिजन शुरू भएयता उनले कुनै पनि खेलमा गोलविहीन बन्नुपरेको छैन । उनले बार्यनका लागि पछिल्ला १४ खेलमा लगातार गोल गर्दै आएका छन् । यो जितपछि बार्यनले तीन खेलबाट सात अंक जोडेको छ ।