नरसिंह जात्रा सञ्चालनमा कठिनाइ



सुनील महर्जन, ललितपुर ।

कोरोना जोखिमका बेला स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी करिब ३ सय वर्ष पुरानो नरसिंह जात्रा सञ्चालन गरिएको छ । जात्रा सञ्चालन गर्ने गुठीले रकम अभावको समस्या निरन्तर भोग्दै आए पनि परम्परा धान्नैका लागि हरेक वर्ष यो जात्रा सञ्चालन हुँदै आएको छ ।

धार्मिक र सांस्कृतिक महत्व बोकेको नरसिंह जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन ललितपुरमा सञ्चालन हुने गर्दछ । ६ कुल (षट्कुल) देवब्राह्मण (नेवार ब्राह्मण) राजोपाध्यायहरूको उपाकर्म गुठीका प्रत्येक सदस्यहरुले ज्येष्ठताका आधारमा पालैपालो आफ्नै खर्चमा सो जात्रा सञ्चालन गर्दै आएको छ । कोमलेशानन्द राजोपाध्याय (कोमल जुजु) को गाःबहालस्थित घरबाट जात्रा शुरु गरिएको थियो ।

अगाडि प्रह्लाद, दायाँ–बायाँ सरस्वती र लक्ष्मीसँगै निस्किने नरसिंहलाई ललितपुरको विभिन्न क्षेत्रमा परिक्रममा गराइएको थियो । जात्राको पालो लिने परिवारको ज्वाइँ वा भान्जा वा पुरोहितलाई नरसिंह बनाई नगर परिक्रमा गराउने परम्पराअनुसार यस वर्षका कोमल जुजुका ज्वाइँ काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्याय नरसिंह बन्नुभएको थियो । नरसिंह भगवान्सँगै सुवेदीकै भतिजा मखन निवासी विभान राजोपाध्याय प्रह्लाद, पाटन पिम्बहाल निवासी निधेश राजोपाध्याय सरस्वती र गाःबहाल निवासी निरज राजोपाध्याय लक्ष्मी बनेर नगर परिक्रमा गर्नुभएको थियो ।

यस वर्ष कोरोनाका कारण नरसिंहसँगै ६ जोडी अप्सरा, बाजागाजाको टोली र भजन मण्डलीलाई नगर परिक्रमा गराइएन । नरसिंह जात्रालाई नेपाल भाषामा उपाकुलं सायाः भनिन्छ । राजोपाध्याय समुदायमा ज्येष्ठताको आधारमा पालो चलाइने जात्रा सायाः रुटमा परिक्रमा गराउने चलन छ । कात्तिक नाचका क्रममा निस्कने नरसिंहलाई उग्ररूपको नरसिंह मानिन्छ भने भदौमा निस्कने नरसिंहलाई शान्त स्वभावको नरसिंहका रूपमा लिइन्छ । यो जात्रा राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालन हुँदै आएको थियो ।

मल्लकालीन वैभव र कलाको झ–झल्को दिने सो नाच रकम अभावले सञ्चालन गर्न निकै मुस्किल हुँदै गएको उपाकर्म गुठी व्यवस्थापन समिति ललितपुरका उपाध्यक्ष सञ्जय शर्मा राजोपाध्यायले बताउनुहुन्छ ।

जात्रा सञ्चालनका लागि भनेर उपाकर्म गुठीलाई ललितपुर उपमहानगरपालिकाले लामो समयदेखि वर्षेनी १३ हजार रुपियाँ उपलब्ध गराउँदै आएकोमा हाल २० हजार रुपियाँ उपलब्ध गराउन थालेको छ । तर, सो जात्रा सञ्चालनका लागि कम्तीमा ३ लाख रुपियाँ आवश्यक रहेको बताइन्छ । यति रकम खर्च गर्न नसक्दा उपाकर्म गुठीका कतिपय सदस्यहरुले आफूले जात्रा सञ्चालन नगरी आफूभन्दा कनिष्ठलाई पालो दिने गरेको जिकिर गर्दै राजोपाध्याय समाजका अध्यक्षसमेत रहनुभएका सञ्जय शर्माले जात्रा कुनै पनि बेला लोप हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो ।

जात्रा सञ्चालनका लागि उक्त रकम पर्याप्त नभए पनि उपाकर्म गुठीका सदस्यहरुले जात्रा सञ्चालन गर्ने जिम्मेवारी आइपर्दा आफ्नो पुर्खादेखि सञ्चालन हुँदै आएको धर्मकर्मको काम भनेर निरन्तरता दिँदै आएको पाइएको छ ।

यो जात्रा कहिलेदेखि शुरु भयो भने अहिलेसम्म पनि यकिनका साथ भन्न सकिने अवस्था नभएको गुठीका सदस्यहरु बताउँछन् । उपाकर्म गुठीको हस्तलिखित ग्रन्थमा नेपाल संवत् ८६९ अर्थात विसं १८०६ देखिको मात्र अभिलेख रहेको छ । वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले राजोपाध्यायहरुको सीमित प्रयासले गर्दा जेनतेन सञ्चालन हुँदै आएको सो जात्रालाई राष्ट्रियस्तरमा व्यापक गर्दै जानुपर्ने खाँचो औंल्याउनुभयो । संस्कृतिविद् जोशीले भन्नुभयो– ‘जात्राको महत्वबारे राष्ट्रिय अन्तर्राष्ट्रिय जगत्मै प्रचारप्रसार गर्नुपर्ने खाँचो छ । यस जात्रालाई पनि समयसापेक्ष सञ्चालन गर्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्