इन्टरको लगातार दोस्रो जित


रोम, (एजेन्सी) ।

इटालियन सिरी ए लिग फुटबलमा इन्टर मिलानले लगातार दोस्रो जित दर्ता गरेको छ ।

शुक्रबार राति भएको खेलमा इन्टरले भेरोनालाई उसैको घरेलु मैदानमा ३–१ गोलअन्तरले हराएको हो । इन्टरको जितमा दुई जना खेलाडीले तीन गोल गरेका थिए । यसअघि सिजनको पहिलो खेलमा इन्टरले आफ्नो घरमा जेनोआलाई ४–० गोलअन्तरले हराएको थियो ।

शुक्रबारको खेलमा सुरुआती अग्रता भने भेरोनाले लिएको थियो । खेलको १५औं मिनेटमा इभान इलिचले गोल गरेर पाहुना टोलीलाई झट्का दिएका थिए । सोही गोलको मद्दतमा भेरोनाले पहिलो हाफमा अग्रता जोगायो । तर, त्यसपछि दोस्रो हाफमा इन्टरले शानदार कमब्याक गर्न सफल भयो ।

इन्टरका लागि खेलको ४७औं मिनेटमा लौटारो मार्टिनेजले गोल गरेर खेल बराबरी बनाए । त्यसपछि भने जोआक्विन कोरेरा नायक बने । उनले इन्टरका लागि आफ्नो डेब्यू खेलमै दुई गोल गरेर सनसनी मच्चाए । उनी खेलको ७४औं मिनेटमा लौटारो मार्टिनेजको स्थानमा मैदान छिरेका थिए । तर, उनले आफ्नो डेब्यूमा उच्च प्रभाव पार्न सफल भए ।

उनले खेलको ८३औं मिनेटमा व्यक्तिगत पहिलो गोलपछि इन्टरले खेलमा २–१ को अग्रता बनाएको थियो । त्यस्तै, खेलको ९४औं मिनेटमा उनले दोस्रो गोल गरेपछि खेल इन्टरले ३–१ ले जित्यो । यो जितपछि इन्टरले दुई खेलबाट ६ अंक जोडेको छ ।