ओलीको घातक बलिङमा इंग्ल्यान्डको जित



लन्डन, (एजेन्सी) ।

फास्ट बलर ओली रोबिन्सनले घातक बलिङ गरेपछि इंग्ल्यान्डले तेस्रो टेस्टमा भारतलाई एक इनिङ र ७६ रनले पराजित गरेको छ ।

यो जितसँगै घरेलु टोली इंग्ल्यान्डले ५ खेलको टेस्ट सिरिज १–१ को बराबरीमा पु¥यायो । पहिलो टेस्ट वर्षाका कारण बराबरीमा सकिँदा भारत दोस्रो टेस्टमा १ सय ५१ रनको फराकिलो अन्तरले विजयी भएको थियो । जबकी पहिलो टेस्टमा भारत जितको निकट थियो, तर वर्षाका कारण उक्त टेस्टमा बराबरी नतिजा आत्मसात गर्नुपरेको थियो । चौथो टेस्ट सेप्टेम्बर १० देखि ओभलमा हुनेछ ।

पहिलो इनिङमा केवल ७८ रनमा समेटिएको भारतले दोस्रो इनिङमा राम्रो ब्याटिङ गरेको थियो । तेस्रो दिनको खेल समाप्तिसम्म भारत २ विकेटको क्षतिमा २ सय १५ रनमा थियो । क्रिजमा चेतेश्वर पुजारा र कप्तान विराट कोहली थिए । उनीहरूले खेललाई लम्ब्याउने संकेतसमेत गरेका थिए । तर, चौथो दिन शनिबार भारतले बाँकी ८ विकेट ६३ रन जोडेर गुमाएर टेस्ट हार्न पुगेको थियो । भारतको ब्याटिङ धराशयी हुनुमा ओलीको घातक बलिङ थियो । उनले ६५ रन दिएर ५ विकेट लिएका थिए ।

भारतको तर्फबाट चेतेश्वर पुजारा ९१ रनमा आउट भएका थिए । उनले अघिल्लो दिनको रनमा कुनै रन थप्न सकेनन् । उनलाई ओलीले एलबीडब्ल्यूको धरापमा पारेर पभेलियन फर्काएपछि उनी शतकबाट चुकेका थिए । यसपछि कप्तान विराट कोहली ५५ रन जोडेर आउट भएका थिए । उनलाई पनि ओलीले नै आउट गरेका थिए । अर्को ओभरमा आजिन्क्य रहाणेलाई जेम्स एन्डरसनले आउट गरे । रहाणेले १० रन जोडेका थिए । ५ विकेट २ सय ३९ रनको लागि गुमेपछि भारत निकै दबाबमा परेको थियो ।

यस्तै, अर्को ओभरमा ऋषभ पन्त मात्र १ रन जोड्दै ओलीकै बलमा आउट भए । मोहमद शामी ६ रनमा मोइन अलीको बलमा बोल्ड भएपछि भारत हारतर्फ उन्मुख भएको थियो । इशान्त शर्मा २ रन जोड्दै ओलीको बलमा विकेटकिपर बटलरको हातबाट क्याचआउट भए । रवीन्द्र जडेजा ३० रन जोड्दै ओभर्टनको बलमा विकेटकिपरबाट समातिएपछि भारत हारको संघारमा पुगेको थियो । दुई बल पछि नै मोहम्मद सिराजलाई बेयरस्टोले क्याच गरेपछि भारत अलआउट भएको थियो । ओलीले ५ विकेट लिँदा ओभरटनले २ तथा एन्डरसन र अलीले १–१ विकेट लिएका थिए ।

यसअघि तेस्रो दिन इंग्ल्यान्ड ४ सय ३२ रनमा अलआउट भएको थियो । यो सँगै भारतविरुद्ध इंग्ल्यान्डले ३ सय ५४ रनको विशाल अग्रता लिएको थियो । इंग्ल्यान्डको लागि कप्तान जोए रूटले १ सय २१ रनको शतकीय इनिङ खेलेका थिए । उनको यो टेस्ट करिअरको २३औं तथा यस वर्ष छैटौं शतक पनि हो । उनी अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङको कीर्तिमानी निकट पुगेका छन् । पोन्टिङले एकै वर्षमा ७ टेस्ट शतक प्रहार गरेको कीर्तिमान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्