युभेन्टसले रोनाल्डो बेच्ने !


मिलान, (एजेन्सी) ।

इटाली सिरी ए टोली युभेन्टसले क्रिस्टियानो रोनाल्डोलाई बेच्ने लक्ष्य रहेको बताएको छ । युभेन्टस्ले यदि राम्रो रकममा सम्झौता गर्न सकेमा यस समरमा उनलाई बेच्ने लक्ष्य भएको बताएको हो । ३६ वर्षीय पोर्चुगलका फरवार्डको युभेन्टसमा सम्झौता अवधि बाँकी रहेको छ । रोनाल्डोले सिरी ए को जारी सिजनको पहिलो खेलमा खेल्न पाएका थिएनन् । युडिनेजविरुद्धको खेलमा उनलाई सहभागि गराएको थिएन ।

रोनाल्डोका एजेन्ट जोर्ज मेन्डेसले केही प्रमुख युरोपियन क्लबसँग कुरा गरेका छन् । रोनाल्डोलाई अनुबन्ध गराउन मेन्डेसले इंग्लिस प्रिमियर लिग टोली म्यानचेस्टर सिटी र फ्रेन्च लिग वान टोली पेरिस सेन्ट जर्मेनसँग कुरा गरिरहेको स्रोतले जनाएको छ । पेरिस सेन्ट जर्मेनले हालै मात्र बार्सिलोनाबाट लियोनल मेसीलाई अनुबन्ध गर्न सफल भएको छ ।

यदि रोनाल्डो भित्र्याउन सकेमा मेसी र रोनाल्डोले एकै क्लबबाट खेल्नेछन् । यो फुटबल इतिहासमा एउटै क्लबबाट दुई सुपरस्टार खेल्ने वातावरण हुनेछ । यसअघि यी दुई खेलाडीले ला लिगामा एक अर्काविरुद्ध खेलेका थिए । जब रोनाल्डो युभेन्टसमा आए तबदेखि यी दुई खेलाडीबीचको प्रतिस्पर्धा कम भएको छ ।

युभेन्टसले तीन वर्षअघि रोनाल्डोलाई अनुबन्ध गरेको थियो । रोनाल्डो युभेन्टसमा आएपछि निरास भएको पनि मेन्डेसले बताएका छन् । रियल मेड्रिडबाट युभेन्टसमा अनुबन्ध भएपछि रोनाल्डोले च्याम्पियन्स लिगमा समेत राम्रो प्रदर्शन गर्न सकेनन् ।

रोनाल्डो आए पनि युभेन्टसले क्वाटरफाइनलबाट माथिको यात्रा समेत गर्न सकेको थिएन । गत दुई सिजनमा युभेन्टस अन्तिम १६ बाटै बाहिरिएको थियो । यस्तै गत सिजनमा युभेन्टसले सिरी ए उपाधि समेत गुमाएको थियो । उक्त सिजनमा इन्टर मिलानले उपाधि जितेको थियो । युभेन्टसले यसअघि नौ वर्ष लगातार सिरी ए उपाधि जितेको थियो । यो क्रमलाई इन्टरमिलानले तोडेको थियो ।