राशिद पहिलो पटक आईपीएलमा


लन्डन, (एजेन्सी) । 

इंग्ल्यान्डका लेग स्पिनर आदिल राशिदले पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन् । उनलाई आईपीएलअन्तर्गत फ्रेन्चाइजी टोली पन्जाब किंग्सले अनुबन्ध गरेको हो । ३३ वर्षीय राशिदलाई अस्टे«लियाका झे रिचार्डसनको स्थानमा अनुबन्ध गरिएको हो । उनको लागि पन्जाब किंग्सले १.४ मिलियन पाउन्ड तिरेको छ ।

राशिद आईसीसीको टी–२० फरम्याटमा बलिङ रेन्किङमा चौथो स्थानमा रहेका छन् । उनले इंग्ल्यान्डका लागि ६२ टी–२० खेलेर २४.२९ औसतमा ६५ विकेट लिएका छन् । भारतमा मे मा कोरोनाभाइरसको कारण स्थगित भएको यस सिजनको आईपीएल आगामी सेप्टेम्बर १९ देखि यूएईमा हुँदैछ । पन्जाब ८ खेलमा ३ मा जित हात पारेर अंकतालिकाको छैटौं स्थानमा रहेको छ ।

यस्तै, कोलकाता नाइटराइडर्सले न्युजिल्यान्डका पेसर टिम साउदीलाई अनुबन्ध गरेको छ । कोलकाताले साउदीलाई अस्ट्रेलियाका फास्ट बलर पेट कमिन्सको स्थानमा टोलीमा ल्याएको हो । कमिन्सले आगामी एसेजको लागि तयारी गर्न आईपीएलमा नखेल्ने बताएपछि कोलकाताले उनको विकल्प खोजेको हो । स्थगित हुनुअघिको आइपीएल अंक तालिकामा कोलकाता सातौं स्थानमा थियो ।

साउदी यसअघि पाकिस्तान सुपर लिगमा खेल्ने बताइएका थिए । उनले पाकिस्तानको यात्रा रद्द गरेर यूएईमा खेल्न स्वीकार गरेका हुन् ।

साउदीले आईपीएलमा लगातार ६ वर्ष खेलेपछि २०२० को अक्सनमा उनी बिकेका थिएनन् । लिगमा अन्तिमपटक उनले सन् २०१९ मा खेलेका थिए । उक्त संस्करणमा उनले रोयल च्यालेन्जर्स बैंगलोरबाट सहभागी जनाएका थिए । उनले उक्त वर्षमा ३ खेलमात्रै खेल्न पाएका थिए । उनी त्यतिबेला महँगो बलर सावितसमेत भएका थिए ।

टिम साउदीले आईपीएलमा रोयल च्यालेन्जर्सका साथै चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्सबाट पनि खेलेका थिए । उनले यस लिगमा कुल ४० खेल खेलेर ८.४७ औसत राखेर कुल २८ विकेट लिएका छन् ।