श्रीलंकन प्रसन्ना चितवन टाइगर्समा अनुबन्ध


काठमाडौं ।

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको लागि चितवन टाइगर्सले श्रीलंकाका अलराउन्डर सिक्कुगे प्रसन्नालाई अनुबन्ध गरेको छ ।

३६ वर्षीय प्रसन्नाले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिगका साथै इंग्ल्यान्डको काउन्टीमा हुने टी–२० ब्लास्टमा पनि खेलिसकेका छन् । उनले श्रीलंकाबाट केवल एक टेस्ट मात्रै खेल्न पाएका छन् । उनले ४० ओडीआई खेलेका छन् भने टी–२० मा २० खेल खेलेका छन् ।

प्रसन्नाले २०१६ मा ओडीआईमा आयरल्यान्डविरुद्ध उनले ४५ बलमा ९५ रनको उत्कृष्ट इनिङ खेलेका थिए । उनले टि–२० मा २ सय १४ रन बनाउनुका साथै १० विकेट लिएका छन् । टि–२० क्रिकेटमा १ हजार ७ सय ७७ रन बनाएको उनले उक्त फरम्याटमा १ सय ३५ विकेटसमेत लिएका छन् । उनले १ सय ३८ छक्का प्रहारसमेत गरेका छन् ।

२०११ मा श्रीलंका टोलीमा डेब्यू गरेका प्रसन्ना सन् २०१९ पछि राष्ट्रिय टोलीमा परेका छैनन् । उनी चितवनमा आबद्ध हुने चौथो विदेशी खेलाडीसमेत हुन् । यसअघि चितवनमा अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद शहजाद, पाकिस्तानका अलराउन्डर डेनिस अजिज र मलेसिया चर्चित युवा ब्याट्सम्यान विरनदीप सिंहलाई टोलीमा भित्र्याएको छ ।

नेपालका फास्ट बलर सोमपाल कामीको कप्तानीमा रहेको चितवनका अन्य नेपाली खेलाडीमा दिलिप नाथ, सन्दीप सुनार, साहब आलम, ललित भण्डारी, कमल सिंह ऐरी, भीम सार्की, सागर ढकाल, आदिल खान, इशान पाण्डे र खडक बोहरा रहेका छन् । ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने छ ।