इंग्ल्यान्डको भारतविरुद्ध शानदार ब्याटिङ


लन्डन ।

घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्धको तेस्रो टेस्टमा शानदार ब्याटिङ गरेको छ ।
दोस्रो टेस्ट हारेर ५ टेस्टको सिरिजमा १–० ले पछि परेको इंग्ल्यान्डलाई तेस्रो टेस्टमा ओपनर ब्याटसम्यानले ब्याटिङतर्फ बलियो आधार दिए । इंग्ल्यान्डका लागि ओपनर रोरी बन्र्स र हसिब हमिदले शतकीय साझेदारी गरेका हुन् ।

उनीहरूले पहिलो विकेटका लागि १ सय ३५ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो बनाएका हुन् । जबकी जारी सिरिजमा यसअघि टोलीका लागि पहिलो विकेटका लागि ३७ रनको साझेदारी भएको थियो ।

बन्र्स १ सय ५३ बलमा ६१ रन बनाएर आउट भएका थिए । उनलाई मोहम्मद शामीले बोल्ड गरेका थिए । आउट हुनुअघि बन्र्सले टेस्ट करियरको १० औं अर्धशतक बनाएका थिए । उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए । यसपछि अर्का ओपनर हमिद पनि बोल्ड भएर पभेलियन फर्केका थिए । ६८ रन जोडेका उनलाई रवीन्द्र जडेजाले आउट गरेका थिए । यो जडेजाको सिरिजमा पहिलो विकेटसमेत हो । हमिदले १२ चौका प्रहार गरेका थिए ।

हमिद र बन्र्सको यो शतकीय साझेदारी इंग्ल्यान्डको सन् २०१६ पछि प्रारम्भिक विकेटका लागि ठूलो साझेदारी हो । उक्त वर्षमा एलास्टर कूक र हमिदले पहिलो विकेटका लागि १ सय ८० रनको साझेदारी गरेका थिए । भारतविरुद्धको खेलमा हमिदको डेब्यु भएको थियो । ५ वर्षपछि पुनः टोलीमा फर्केका हमिदले फेरि एकपटक शतकीय साझेदारीमा आफूलाई भागीदार बनाए ।

यो समाचार तयार पार्दासम्म इंग्ल्यान्डले भारतविरुद्ध २ सय भन्दा बढी रनको अग्रता लिइसकेको छ । क्रिजमा कप्तान जोए रूट ६८ रनमा र डाविड मलान ६२ रन बनाएर रहेका छन् । रूट र मालानले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरिसकेका छन् । १ सय ५९ रनमा क्रिजमा आएका रूटले टेस्ट करियरकै ५१ औं अर्धशतक बनाए भने मलानको करियरको सातौं अर्धशतक हो ।

यसअघि, भारतले पहिलो इनिङमा ७८ रन मात्रै जोडेको थियो । भारतको तर्फबाट ओपनर रोहित शर्माले सर्वाधिक १९ रन जोडेका थिए । यस्तै आजिन्क्य रहाणेले १८ रन बनाएका थिए । बाँकी खेलाडीमा कप्तान विराट कोहलीसहितले दोहोरो अंक पनि छुन सकेनन् । इंग्ल्यान्डको तर्फबाट जेम्स एन्डरसनले शुरूमै तीन विकेट लिएपछि नै भारत क्रिजमा टिक्न नसकेको हो ।