सन्दीपद्वारा होबार्टसँग सम्झौता नवीकरण


काठमाडौं ।

सन्दीप लामिछानेले अष्ट्रेलियाको घरेलु टी–२० प्रतियोगिता बिग बास लिग (बीबीएल) को टोली होबार्ट हरिकेन्समा सम्झौता नवीकरण गरेका छन् ।

योसँगै नेपाली लेग स्पिनरले बीबीएलको ११ औं संस्करणमा खेल्ने भएका छन् । सन्दीपले सम्झौतापछि बताए–‘गत सिजन मैले होबार्टबाट खेल्दा साँच्चिकै आनन्द भएको थियो । त्यसैले, म फेरि यहीबाट खेल्न निकै उत्साहित छु । म यस सिजनमा पूरै सिजन त्यहाँ हुनेछु’ ।

सन्दीप नयाँ सिजनको लागि होबार्टले सम्झौता गरेको पहिलो विदेशी खेलाडी हुन् । सन्दीपले गत वर्ष होबार्टबाट खेलेका थिए । उनले गत सिजनको बीबीएलमा ८ खेल खेल्दा ८ विकेट लिएका थिए । उनको उत्कृष्ट बलिङ प्रदर्शन २–२४ स्पेल थियो ।
यसअघिका दुई सिजन सन्दीपले मेलबर्न स्टार्सबाट खेलेका थिए ।

सन्दीपले नवौं संस्करणको बीबीएलमा मेलबर्नबाट खेल्दै कुल १५ विकेट लिएका थिए । सन्दीपले पहिलोपटक सन् २०१८ मा मेलबर्नबाटै बिग बास लिग खेलेका थिए । उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट हात पारेका थिए । हाल सन्दीप आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजको लागि ओमानमा रहेका छन् ।

सेप्टेम्बर १९ सम्म नेपाली टोली व्यस्त हुनेछ । नयाँ सिजनको बिग बास लिग डिसेम्बर ५ देखि जनवरी २८ सम्म आयोजना हुनेछ ।