प्रदेश–१ को मुख्यमन्त्री बने भीम आचार्य


हरिहर नेपाल, विराटनगर ।

प्रदेश–१ को नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त हुनुभएको छ । नेकपामा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा लाग्नुभएका आचार्य पछिल्लो समय खेमा परिवर्तन गरेसँगै प्रदेश–१ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

बिहीबार नै नेकपा एमाले प्रदेश–१ को संसदीय दलको बैठकले संसदीय दलको नेतामा आचार्यलाई चयन गरेको थियो । आचार्यलाई संसदीय दलको नेता र मुख्यमन्त्री बनाउन प्रदेश–१ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले मार्गप्रशस्त गर्नुभएको थियो । राईले बिहीबार नै संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

शेरधन राईको राजीनामा स्वीकृत भएसँगै प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ मुख्यमन्त्रीका रूपमा आचार्यलाई शपथग्रहण गराउनुभएको थियो । शपथग्रहण सकिएलगत्तै बिहीबार नै आचार्यले मुख्यमन्त्रीका रुरूपमा कार्यभार सम्हाल्नुभएको छ ।
कार्यभार सम्हाल्दै आचार्यले सुशासन, विकास र कोरोना महामारी नियन्त्रणलाई सरकारले प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

आचार्यले सीमित स्रोत साधन र निश्चित कार्यक्षमता र सम्पूर्णरूपमा तयार भइनसकेको संरचना रहेकाले सरकारका अगाडि समस्याका चाङहरू रहेको बताउनुभयो । प्रदेश–१ का निवर्तमान मुख्यमन्त्री राईले मुलुक संघीयतामा गएर प्रदेश सरकार बनेको ३ वर्ष बितिसके पनि प्रदेशले अझै अधिकार नपाएको गुनासो गर्नुभएको छ । निवर्तमान मुख्यमन्त्री राईले अझैसम्म प्रदेशलाई प्रहरी समायोजन नगरिएको, प्रदेशको आफ्नै कर्मचारी संयन्त्र नभएको बताउनुभयो ।

नेकपा एमालेको विभाजनले औपचारिकता पाएसँगै प्रदेश–१ को मुख्यमन्त्री बन्नुभएका आचार्यलाई एमाले विवादमा माधवकुमार नेपालको पक्षमा खुलेका ८ जना सांसदले साथ दिएका छन् । यसअघि नेपाल समूहमा आचार्यसहित १८ जना सांसद रहेकामा आचार्यलाई दलको नेता बनाउन बिहीबार बसेको संसदीय दलको बैठकमा नेपाल समूहका ८ सांसद सहभागी भएका हुन् । आचार्यलाई दलको नेता चयन गर्न आयोजित बैठकमा भौतिकरूपमा २४ जनाको उपस्थिति थियो । प्रदेशसभाको एमाले संसदीय दलमा ५१ सदस्य रहेकामा दलको नेता परिवर्तन गर्ने माइन्युटमा केही सदस्यले भने प्रदेश प्रमुखको कार्यालयमै पुगेर हस्ताक्षर गरी बहुमत जुटाएका थिए । बैठकमा सहभागी नभए पनि राजकुमार ओझा र ज्ञानेश्वर राजवंशीले निर्णयमा पछि हस्ताक्षर गर्नुभएको थियो ।

यसअघि ओली समूहमा ३२ जना रहेकोमा संसदीय दलको बैठकमा १८ जना मात्र उपस्थित रहेका थिए । आचार्य मुख्यमन्त्री बन्दै गर्दा यसअघि प्रधानमन्त्री केपी ओलीले प्रतिगमन गरेको भन्दै पुस ५ पछि सामाजिक विकासमन्त्रीबाट राजीनामा दिएर आन्दोलनमा होमिनुभएका जीवन घिमिरेले पनि साथ दिनुभएको छ ।

यसै गरी, यसअघि नेपाल समूहमा रहेका मोरङका सांसदहरु लीलावल्लभ अधिकारी, यशोदा अधिकारी, सुनसरीकी सावित्री जोशी, तेह्रथुमका लक्ष्मण तिवारी, ताप्लेजुङका बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा पनि एमालेमा फर्किनुभएको छ । प्रदेशसभाका ५ सांसद मात्र नयाँ पार्टीमा प्रदेश गरेको अवस्थामा आचार्य नेतृत्वको सरकारले बहुमत गुमाउने अवस्था छ । प्रदेशसभाको संसदीय दल विभाजन भएपछि एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । ९३ सदस्यीय प्रदेशसभामा अहिले कायम रहेका ९२ जनामध्ये बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ ।