अस्ताए सांस्कृतिक क्रान्तिका धनी टुहुरे


विदुर गिरी, काठमाडौं ।

आमा दिदी बहिनी हो कति बस्छौ दासी भई सुखको सधैं प्यासी बनेर…

निरंकुश र कठोर पञ्चायत कालमा गाउँबस्तीका चेलीलाई क्रान्तिमा लाग्न झकझकाउने, जोशिला गीत गाएर सिंगो निरंकुश व्यवस्थालाई चुनौती दिने जनगायक जेबी टुहुरे अर्थात् जुठबहादुर खड्गी अब रहेनन्।

नेपालको प्रगतिशील आन्दोलनलाई सांंस्कृतिक अभियानद्वारा उचाइमा पुर्‍याउने सांस्कृतिक योद्धा टुहुरेको उपचारका क्रममा बिहीबार राजधानीको बयोधा अस्पतालमा निधन भएको हो । ७८ वर्षीय उनलाई गत भदौ १ गते मंंगलबार कलंकीस्थित आफ्नै निवासमा लडेपछि उपचारका लागि बयोधा अस्पताल भर्ना गरिएको थियो । ठोकाइका कारण मस्तिष्कघात भएका उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापजस्ता दीर्घरोग पनि थिए । दीर्घरोगका कारण उनको शल्यक्रिया हुन नसकेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराएका छन् ।

२००१ साल कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जेबी आफ्नो जमानामा न्याय समानता र परिवर्तनको पक्षमा जनमत निर्माणका लागि गाउँ–गाउँमा गीत गाउँदै हिँडेका थिए । माले पार्टी भूमिगत अवस्थामा रहेको समयमा जेबीले भने हिम्मतका साथ सांंस्कृतिक कार्यक्रममा सहभागी भई पार्टीको विचार जनतासम्म पु¥याउने काम गरेका थिए । २०२० को दशकमा कम्युनिस्ट पार्टीसँग निकट रही कम्युनिस्ट पार्टी निर्माणका लागि गीत गाउने काम पनि गरे उनले । मालेमा रहँदा उनी जननेता स्व. मदन भण्डारीका प्रिय बन्न पुगेका थिए । २०६६ सालमा माओवादीमा प्रवेश गरेपछि भने उनले माओवादीका लागि गीत गाउने काम गरेका थिए । उनी माले, एमाले हुँदै माओवादी केन्द्रमा संलग्न भएका थिए । २०७० सालको दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद् बनेका उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादीका सल्लाहकारसमेत थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउन्डेसन स्थापना भएको छ । टुहुरे क्रान्तिकारी गीत गाएर हिँडेका कारण थुप्रैपटक जेल परे । पार्टीका लागि गाउँदै हिँडे पनि पार्टीले नहेरेपछि टुहुरेले तरकारी दोकानदेखि कपडा, किताब र होटलको व्यवसायसमेत गर्नुपरेको थियो ।

पाँच दशकसम्म प्रगतिशील सांस्कृतिक क्षेत्रमा सक्रिय टुहुरेका आमा दिदी बहिनी, छोराहरु हो, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरिलाई त स्वर्ग छ, दुःखको बोझ, आँधी खोलैले मलाई रोइरहने बनायो साहुको जालैले, चौरी चर्ने ठाउँमा, जुनीभरि मुटु, रातको अनिदो, बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदै छजस्ता गीत निकै चलेका छन् ।

नाम जुठबहादुर भए पनि २०२१ सालमा पिताको निधनका कारण आफूलाई टुहुरो महसुस गरी उनले जेबी टुहुरे लेख्न थालेका थिए । २०२४ सालमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेका १ सय ५० भन्दा बढी गीत रेकर्ड छन् ।

जनगायक टुहुरेको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत टुहुरेको निधनमा दुःख व्यक्त गरेका हुन् । उनका थुप्रै शुभचिन्तकले पनि उनीप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर दिउँसो माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो भने बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । टुहुरेका परिवारमा पत्नी, एक छोरा र चार छोरी छन् ।