ब्लाटर काण्डको रकम फिफाले फिर्ता पाउने


लन्डन ।

सेप ब्लाटर भ्रष्टाचार काण्डमा जफत गरिएको रकम फिफाले फिर्ता पाउने भएको छ ।

फिफाका पूर्व अध्यक्ष ब्लाटर अनुसन्धानको क्रममा जफत गरिएको दुईसय एक मिलियन अमेरिकी डलर फिफाले प्राप्त गर्ने भएको हो । अमेरिकाको न्याय विभागले फिफाभित्रको भ्रष्टाचारको अनुसन्धानको क्रममा जफत गरिएको उक्त रकम फिफालाई बुझाउने निर्णय गरेको छ ।

विभागले जफत गरिएको फिफाको रकम भुक्तानी किस्तामा गर्ने भएको छ । पहिलो चरणमा फिफाले अमेरिकी ३२.३ मिलियन डलर प्राप्त गर्नेछ । फिफाले अनुसन्धानका क्रममा पूर्व पदाधिकारीहरूको बैंक खाताबाट जफत भएर पाउन लागिएको भुक्तानीको रकमले फिफा फाउन्डेसनमार्फत फुटबल विकासमा खर्च गरिने प्रतिक्रियासमेत दिएको छ ।

फिफाले यो भुक्तानीबाट विश्व फुटबलको विकास गर्ने र विशेष गरी युवा तथा सामुदायिक कार्यक्रमहरू सञ्चालन गरिने जनाएको छ । सन् २०१५ मा अमेरिकाको न्याय विभागले फिफाभित्र भ्रष्टाचार रहेको आरोप लगाउँदै करिब ५० जना प्रतिवादीहरूमाथि छानविन र अनुसन्धान गरेको थियो । विभागले अनुसन्धानबाट २७ जना व्यक्तिलाई दोषी ठहर गर्नुका साथै ४ वटा संस्थामाथि अनुसन्धान जारी राख्ने निर्णय गरेको थियो ।

सन् २०१५ मा बाहिर आएको फिफा भ्रष्टाचार खेल इतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचारको काण्डको रूपमा हेर्ने गरिएको छ । उक्त भ्रष्टाचार तत्कालीन फिफा पदाधिकारी, फुटबलका बजार व्यवस्थापकको मिलेमतोमा रचिएको ठूलो काण्डको रूपमा चर्चित छ ।

यस भ्रष्टाचार काण्डले फिफाका पूर्व अध्यक्ष सेभ ब्लाटरको १७ वर्ष लामो अध्यक्षको कार्यकाल समाप्त भएको थियो । यो घटनापश्चात् फिफा अध्यक्षमा हालका जियानी इन्फान्टिनोको कार्यकाल शुरू भएको हो ।

घटनालगत्तै अमेरिकी न्याय विभागले घटनासँग संलग्न रहेका विभिन्न प्रतिवदीहरूको बैंक खाता रोक्का गरी जफत गरिएको थियो । विभागले यो घटनाका कारण विश्व फुटबल नै घृणित अवस्थामा पुगेको समेत उल्लेख गरेको छ ।