एरिक्सनको ज्यान बचाउनेलाई पुरस्कार


लन्डन ।

युरोकप २०२० फुटबल दौडान मैदानमा ढलेका क्रिस्टियन एरिक्सनको ज्यान बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका डेनमार्कका कप्तान सिमोन जायर र मेडिकल टिमलाई ‘यूईएफए प्रेसिडेन्ट्स’ पुरस्कार प्रदान गरिएको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले वर्ष २०२१ को उक्त अवार्ड एरिक्सनको ज्यान बचाउन योगदान दिने सिमोन र मेडिकल टिमलाई प्रदान गरेको हो । गत जुनमा कोपनहेगनमा फिनल्यान्डविरुद्धको खेलमा एरिक्सन अचानक हृदयघात भएर मैदानमै ढलेका थिए । एरिक्सन हृदयघात भएर खेलकै क्रममा मैदानमा लडेपछि कप्तान सिमोनले मेडिकल टिम बोलाउँदै मैदानको स्थितिलाई विवेकपूर्ण ढंगले नियन्त्रण गरेका थिए ।

मेडिकल टिमले २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिएको थियो । जसका कारण उनको ज्यान बचेको थियो । अहिले एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आईसीडी) जडान गरिएको छ । इटालियन क्लब इन्टर मिलानबाट खेल्ने एरिक्सन अहिलेसम्म मैदान फर्केका छैनन् ।