सेरेनाले नाम फिर्ता लिइन्


न्युयोर्क ।

हरेक वर्ष चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिताको रूपमा हुने यूएस ओपनबाट सेरेना विलियम्सले नाम फिर्ता लिएकी छन् ।

अमेरिकी भेटरान ३९ वर्षीया खेलाडीले चोटको कारण यूएस ओपन खेल्न नसकेको बताएकी हुन् । योसँगै चर्चित खेलाडीले प्रतियोगिता छाडेको सूची पनि लम्बियो । यसअघि रोजर फेडेरर, राफाल नाडाल र डिफेन्डिङ च्याम्पियन डोमिनिक थिएमले प्रतियोगिताबाट अलग भएका थिए । यूएस ओपन आगामी साता न्युयोर्कमा शुरू हुँदैछ ।

सेरेनाले यूएस ओपनमा वोमेन्स सिंगल्सतर्फ ६ पटक उपाधि जितेकी छन् । उनले हालसम्म २३ ग्रान्डस्लाम सिंगल्स उपाधि हात पारेकी छन् । उनी पछिल्ला केही वर्षदेखि अस्टे«लियाकी पूर्व खेलाडी मार्गारेट कोर्टको कीर्तिमानी बराबरी गर्न लागिरहेकी छन् । कोर्टले कुल २४ ग्रान्डस्लाम उपाधि जितेर सिंगल्सतर्फ सर्वाधिक उपाधि जित्ने र्कीिर्तमान राखेकी छन् । यही कीर्तिमानी बराबरी गर्न सेरेनाको लक्ष्य रहेको छ ।

सेरेनाले यो वर्ष धेरै प्रतियोगिता खेलेकी छैनन् । गत जुनमा भएको विम्बल्डन प्रतियोगितामा उनी पहिलो चरणबाटै बाहिरिइन् । सात पटक विम्बल्डन जितेकी उनी रिटायर्ड भएकी थिइन् । गत साता सिनसिनाटीमा भएको वेस्टर्न एन्ड साउदर्न ओपनबाट पनि उनले नाम फिर्ता लिएकी थिइन् ।