भारतको इंग्ल्यान्डसामू आत्मसमर्पण


लन्डन ।

इंग्ल्यान्डका बलर चम्कँदा भारतले बुधबारबाट शुरू भएको तेस्रो टेस्टको पहिलो दिनमै आत्मसमर्पण गरेको छ ।
जेम्स एन्डरसन र ओली रोबिन्सनले शुरूमा ५ विकेट लिए भने बाँकी ५ विकेट क्रेग ओभरटन र साम करानले लिएपछि भारतको पहिलो इनिङमा १ सय रन पनि पुगेन ।

भारतीय टोली ४० दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटिएको हो । भारतको तर्फबाट ओपनर रोहित शर्माले १९ रन र आजिन्क्य रहाणेले १८ रन बनाउनुबाहेक बाँकी खेलाडी दोहोरो अंकमा पुग्न सकेनन् । इंग्ल्यान्डका बलरमा एन्डरसन र ओभरटनले ३-३ विकेट लिए भने ओली र करानले २-२ विकेट हात पारेका हुन् ।

फास्टबलर एन्डरसनले सुरूआती ३ विकेट लिए । उनले दोस्रो टेस्टमा शतक प्रहार गरेका लोकेश राहुललाई शून्यमै पभेलियन फर्काए । त्यसपछि चेतेश्वर पुजारालाई १ रनमा आउट गरेका उनले भारतीय कप्तान विराट कोहलीलाई पनि छिटै आउट गरे । विराटले ७ रन मात्रै बनाउन सके । तीनै जनालाई एन्डरसनले जोस बटलरद्वारा क्याच आउट गराएका थिए ।

हेडिंग्लीको लिड्समा जारी उक्त टेस्टमा ओलीले पनि घातक बलिङ गरेर इंग्ल्यान्डलाई थप बलियो बनाए । उनले आजिन्क्य रहाणेलाई लन्च अघिको अन्तिम ओभरमा आउट गरेर इंग्ल्यान्डलाई सफलता दिलाए । रहाणेले १८ रन जोडेका थिए । यस्तै उनले लन्चपछि रिषभ पन्तको विकेट लिएर भारतलाई ठूलो झट्का दिए । पन्तले २ रन मात्रै बनाएका थिए । योसँगै भारत ५ विकेटको क्षतिमा ५८ रनमा रहेको थियो ।

यसपछि क्रेग ओभरटन र साम करानको घातक बलिङले भारतको ब्याटिङ पूरै ध्वस्त भयो । भारतले बाँकी ५ विकेट २० रन जोडेर गुमायो । ओभरटनले क्रिजमा जमिरहेका ओपनर रोहित शर्मालाई व्यक्तिगत १९ रनमा आउट गरेपछि नै भारतको ब्याटिङ धराशयी हुनतिर अग्रसर भयो । उनले अर्को बलमा मोहम्मद शामीलाई शून्यमै आउट गरेर भारतको स्कोर ७ विकेटको क्षतिमा ६७ मा खुम्च्याइदिए ।

सोही स्कोरमा करानले थप दुई विकेट हात पारे । करानले रवीन्द्र जडेजालाई ४ रनमा र जसप्रीत बुमराहलाई शून्यमा आउट गरेका थिए । अन्तिम विकेटको रूपमा ओभरटनले मोहम्मद सिराजलाई पभेलियन फर्काएपछि भारतको पहिलो इनिङ ७८ रनमा समेटियो । सिराजले ३ रन जोडे भने इशान्त शर्मा ४ रनमा नटआउट रहे । ५ टेस्टको सिरिजमा भारत १–० ले अघि रहेको छ ।