सेभियासँग गेटाफे पराजित


मेड्रिड, (एजेन्सी) ।

अर्जेन्टिनी विङ्गर इरिक लामेलाले इन्जुरी समयमा गोल गरेपछि सेभियाले स्पेनिस ला लिगामा गेटाफेलाई पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा पाहुना टोली सेभियाले गेटाफेलाई १–० गोलअन्तरले हराएको हो । ला लिगामा सेभियाको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा सेभियाले रायो भालेकानोलाई ३–० गोअन्तरले हराएको थियो । गेटाफेको घरेलु मैदान कोलिसेउम अल्फोन्सो पेरेज स्टेडियममा भएको उक्त प्रतिस्पर्धात्मक खेलमा सेभियाले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । सेभियाको संघर्षपूर्ण जितमा इरिक लामेला नायक बने ।

इन्जुरी समय सकिनै लाग्दा गोलपोस्ट नजिक पुगेका लामेलाले रिवाउन्ड बललाई सोझै जाली चुमाएका थिए । २९ वर्षीय लामेला यसैवर्ष इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामबाट सेभिया आएका हुन् । उच्च लयमा रहेका उनले जारी लिगको दुई खेलमा व्यक्तिगत तीन गोल गरिसकेका छन् । लामेलाले यसअघि रायो भालेकानोविरुद्ध पनि दुई गोल गरेका थिए ।

पहिलो हाफमा औसत प्रदर्शन गरेको सेभियाले दोस्रो हाफमा लामेला, इभान राकिटिक र राफा मिरलाई मैदान उतारेको थियो । लामेला ४६औं मिनेटमा सुसोको स्थानमा मैदान छिरेका थिए । ६२ प्रतिशत बल पोसेसनमा राखेको सेभियाको सशक्त प्रहारमा गेटाफेका गोलकिपर डेभिड सोरिया लगातार बाधक बने ।

सेभियाका लामेला ‘म्यान अफ दी म्याच’ भए । जितसँगै सेभियाले दुई खेलबाट ६ अंक बनाएको छ । अर्कोतर लगातार दोस्रो हार खेपेको गेटाफे अंकविहीन नै छ । यसअघि पहिलो खेलमा गेटाफे भ्यालेन्सियासँग १–० कै गोल अन्तरले पराजित भएको थियो ।

सोमबारै भएको अर्को खेलमा ओसासुना र सेल्टा भिगोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा खेलिएको उक्त प्रतिस्पर्धात्मक खेलमा पेनाल्टीको अवसर गुमाउँदा ओसासुना अंक बाँड्न बाध्य बन्यो । खेलको ४८औं मिनेटमा ओसासुनाका रुवेन गार्सियाको पेनाल्टी प्रहारलाई सेल्टाका गोलकिपर माटियस डिटुरोले विफल पारेका थिए । पेनाल्टी बचाएका माटियस ‘म्यान अफ दी म्याच’ भए । लिगमा ओसासुनाको यो लगातार दोस्रो बराबरी हो । पहिलो खेलमा पनि ओसासुना स्पान्योलसँग गोलरहित बराबरीमा रोकिएको थियो । ओसासुनाले दुई खेलबाट दुई नै अंक बनाएको छ । त्यस्तै सेल्टा भिगोको भने एक अंक मात्र छ । लिगको पहिलो खेलमा सेल्टा भिगो एट्लेटिको म्याड्रिडसँग २–१ गोलले पराजित भएको थियो ।