वेस्टह्यामसँग लेस्टर सहजै पराजित


लन्डन, (एजेन्सी)  ।

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा वेस्टह्यामसँग लेस्टर सिटी सहजै पराजित भएको छ ।

सोमबार राति भएको नयाँ सिजनको दोस्रो खेलमा वेस्टह्यामले लेस्टरलाई आफ्नो घरेलु मैदानमा ४–१ को फराकिलो गोलअन्तरले हराएको हो । खेलको ४०औं मिनेटमा १० खेलाडीमा सीमित भएको लेस्टरले अवे मैदानमा नमिठो हार बेहोर्‍यो ।

तुलनात्मक रूपमा कमजोर वेस्टह्यामले आफ्नो मैदानमा पूर्वच्याम्पियन लेस्टरलाई हराउनेक्रममा मिकेल एन्टोनियोले दुई गोल गरे । पहिलो गोल खेलको २६औं मिनेटमा पाब्लो फोर्नाल्सले गरेका थिए । त्यससछि ५६औं मिनेटमा सेड बेनरामाले दोस्रो गोल थपेपछि लेस्टर हारतर्फ धकेलिएको थियो । तर, खेलको ६९औं मिनेटमा लेस्टरका लागि युरी टिलेमान्सले गोल गरेर गोलअन्तर २–१ मा छोट्याएका थिए ।

त्यसपछि, लेस्टर बराबरी गोलका खोजीमा रहेका बेला वेस्टह्यामका लागि मिकेलले ४ मिनेटको बीचमा दुई गोल गरे । खेलको ८०औं मिनेटमा उनले व्यक्तिगत पहिलो गोल गरे भने ८४औं मिनेटमा दोस्रो गोल गरेपछि खेलमा लेस्टर सिटी ४–१ ले पराजित भयो । लेस्टरका लागि मिडफिल्डर अयोजे पेरेजले खराब फाउलका कारण ४०औं मिनेटमा सोझै रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

यो जितपछि वेस्टह्याम शुरूआती दुई खेल सकिँदा ६ अंकका भएको छ । शुरूका दुवै खेल जित्नेमा चेल्सी, लिभरपुल, ब्राइटन र टोटनह्याम रहेका छन् । लेस्टरको भने दुई खेलबाट तीन अंक छ ।