उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या, मेयरले लेखे प्रधानमन्त्रीलाई पत्र


ईश्वरराज ढकाल, काठमाडौं ।

काठमाडौंको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन थालेपछि काठमाडौं महानगरपलिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार वञ्चरेडाँडा ल्यान्डफिल साइट र सो साइटसम्म पुग्ने बाटो तत्काल बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउनुभएको छ ।

शहरी विकास विभाग, सडक विभाग र सरोकारवाला निकायसँग पटक–पटक कुराकानी गर्दा समेत समस्या समाधान हुन नसकेपछि प्रधानमन्त्री देउवाकै ध्यानाकर्षण गराउन मेयर शाक्यले पत्र पठाउनुभएको हो ।

पत्रमा लेखिएको छ– ‘वञ्चरेडाँडा ल्यान्डफिल साइट हालसम्म पनि निर्माण सम्पन्न नभएको र सो साइटमा जाने बाटोसमेत निर्माण हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको छ । यस अवस्थामा तत्काल ल्यान्डफिल साइट र बाटो निर्माण सम्पन्न गरी उपत्यकाको फोहोरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताका साथ आवश्यक कारबाही अगाडि बढाइदिन अनुरोध गर्दछु ।’

मेयर शाक्यले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन थालेपछि सरकार प्रमुखको हैसियतमा प्रम देउवालाई पत्र लेखेको हुँ ।’

पत्रमा दुई वर्षका लागि निर्माण गरेको सिसडोल ल्यान्डफिल साइटमा १६ वर्षसम्म फोहोरको अन्तिम विसर्जन गरिरहेको र अब उक्त स्थानमा फोहोर व्यवस्थापन गर्न सम्भव नभएको उल्लेख छ । पत्रमा सबै विकल्प सकिएकाले वञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्नुपर्ने अवस्था आएकोे उल्लेख छ ।

उपत्यकाका १८ सहित काभ्रे, धादिङ र नुवाकोटका गरी २० स्थानीय तहको फोहोर व्यवस्थापन हुने सिसडोलमा करिब दुई सातादेखि फोहोर विसर्जन गर्न सकिएको छैन । फोहोरको डंगुरबाटै बाटो बनाउने र डोजरको सहायताले सवारीसाधन ठेलेर फोहोर विसर्जन गर्ने स्थानसम्म पुर्‍याउनुपर्ने अवस्थाले गर्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएको छ ।

वञ्चरेडाँडा ल्यान्डफिल साइट तयार नभएका कारण फोहोर व्यवस्थापन गर्न गम्भीर समस्या झेल्नुपरेको कामपा वातावरण व्यवस्थापन विभागको भनाइ छ । वञ्चरे ल्यान्डफिल साइट निर्माण गर्ने जिम्मा पाएको शहरी विकास तथा भवन निर्माण विभागले फोहोरको डंगुरबाट बाटो निर्माण गर्नुपर्ने भएकाले समस्या आएको जनाएको छ ।

विभागका महानिर्देशक नवराज प्याकुरेलले सडक विभागको जिम्मेवारीभित्र पर्ने बाटो निर्माण हुन नसकेका कारण समस्या परेको जिकिर गर्दै भन्नुभयो– ‘ल्यान्डफिल साइटको भ्याली–१ तयार हुनै लागेको छ । एक साताभित्र फोहोर विसर्जन गर्न मिल्ने गरी सबै काम सक्ने योजना बनाएका छौं । लिचेड पोखरी निर्माण अन्तिम चरणमा पुगेको छ ।’ उहाँका अनुसार सिसडोलमा बाटो निर्माण भए फोहोर विसर्जन गर्न समस्या हुँदैन । तर, विभागले यस्तो जवाफ दिन थालेको पनि महिनौं भइसकेको छ ।

विभागको जवाफ सुनेर वाक्क भइसकेको कामपाले सरोकारवाला निकायले काम गर्न नसकेपछि बाध्य भएर प्रधानमन्त्रीलाई पत्र पठाएको हो । अब प्रधानमन्त्री स्वयंले चासो लिएर उपत्यकाको फोहोर व्यवस्थापनमा सहजीकरण गर्नुहुन्छ भन्ने अपेक्षा कामपाले लिएको छ । फोहोर विसर्जन हुन नसक्दा राजधानीको फोहोर व्यवस्थापन सकस बन्दै गएको छ । सडक र गल्ली र चोक–चोकमा फोहोर थुप्रिन थालेका छन् ।

ऐलानीसहित वञ्चरेडाँडा ल्यान्डफिलका लागि करिब १ हजार ७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । सोहीअनुसार सरकारले वञ्चरेडाँडामै फोहोर व्यवस्थापन गर्न तयारी थालेको हो ।

सरकारले करिब १ अर्ब रुपियाँ खर्चे गरेर वञ्चरे ल्याडफिल साइटमा विभिन्न संरचना निर्माण गरिरहेको छ । २०६२ सालमै ३ वर्षभित्र वञ्चरेडाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरिएको थियो । तर, १६ वर्ष बितिसक्दा पनि वञ्चरेडाँडाको पूर्वाधार बन्न सकेको छैन ।