एमालेका लागि ढोका बन्द भयो : नेपाल


मधुसूदन रायमाझी, काठमाडौं ।

नेकपा एमालेबाट विद्रोह गरेर नयाँ दल नेकपा एकीकृत (समाजवादी) दर्ता गर्नुभएका माधवकुमार नेपालले आफूहरूका लागि एमालेको ढोका बन्द भएको बताउनुभएको छ ।

राजधानीको चन्द्रागिरिमा मंगलबार पत्रकार सम्मेलन गर्दै उहाँले भन्नुभयो– ‘एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी पार्टी कब्जा गर्ने स्थिति आइसकेपछि, एकताको ढोका बन्द गर्दै १४ जना सांसदहरुलाई कारबाही र निष्कासन गरेपछि त्यो (एमाले) पार्टीको ढोका हाम्रा लागि बन्द भयो ।’ उहाँले आफूहरुसामु अरू कुनै विकल्प बाँकी नरहेको जिकिर गर्दै भन्नुभयो–‘निष्कासित भइसकेपछि कि हामीले घुँडा टेकेर चुप लागेर बस्नुपथ्यो, कि अर्को क्रान्तिकारी पार्टी निर्माण गर्नुपथ्र्याे ।’ दुईपटक प्रतिनिधिसभा विघटन गर्नेदेखि लिएर कुर्सीमा आफ्नो मात्र हक भएको ठान्ने ओलीमा बढेको अहंकारका कारण पार्टी विभाजित हुन पुगेको बताउनुभयो ।

ओली दक्षिणपन्थी र अवसरवादी भासमा भासिएको टिप्पणी गर्दै उहाँले ओली पार्टीको नीति, सिद्धान्तविपरीत संघीयता र धर्मनिरपेक्षताको विरुद्ध जान खोजेको आरोप पनि लगाउनुभयो ।

नेपालले राजनीतिकरूपमा पनि ओलीमा विचालन आएको दाबी गर्दै नीति, विधि र आचरणमा समस्या हुँदा पार्टीमा ठूलो खाडल पैदा भएको आरोप लगाउनुभयो । पार्टीभित्र ओलीले आफूलाई सर्वज्ञानी ठान्दै अरूलाई अत्यन्त अपमानित गरेको बताउँदै नेपालले भन्नुभयो– ‘प्रधानमन्त्रीको कुर्सी ताकेका छन्, यो कुर्सी नै भाँचिदिन्छु भन्दै प्रतिनिधिसभा नै विघटन गरिदिनुभयो ।’ गत फागुन २८ गतेपछि उहाँले चालेका कदमकै कारण पार्टी विभाजित हुन पुगेको बताउँदै उहाँले ओलीको प्रशंसा नगर्ने, ‘बा’ नभन्ने, पूजक नहुने सबैलाई ओलीले शत्रु र विरोधी ठान्ने गरेका कारण पार्टीभित्र ठूलो समस्या देखिएको टिप्पणी गर्नुभयो ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा विद्रोहीले नै सफलता हासिल गरेको विगतको इतिहास रहेको स्मरण गर्दै नेपालले आफूहरूले दक्षिणपन्थीहरुको पराजय हुँदै गएको इतिहासलाई साक्षी राखेर नयाँ कदम चाल्ने काम गरेको बताउनुभयो । पुनर्गठित कम्युनिस्ट पार्टीले अब अरू वामपन्थी पार्टीहरुसँग चुनावी तालमेल पनि गर्ने जानकारी दिँदै नेपालले भन्नुभयो– ‘लोकतन्त्रको रक्षा, संविधान, राष्ट्रियता र संघीयताको रक्षाका लागि, परिवर्तनको संवाहक समाजवादमा अघि बढ्नका लागि, भ्रष्टाचारलाई निर्मूल पार्दै सुशासनको प्रत्याभूति दिनका लागि, जनताका पीरमर्का बुझ्ने काम गर्नेछौं ।’ आफूहरु जनताको बहुदलीय जनवादको मान्यताका आधारमा अघि बढ्ने बताउँदै उहाँले नयाँ पार्टीले वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढ्ने, समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने सोच र धारणा तय गरेको बताउनुभयो ।

नेपालले भन्नुभयो– ‘यो कुनै पदको लडाइँ होइन । पद र निजी झगडा, अहम्को लडाइँ पनि होइन । विचार, सिद्धान्त, मूल्य र मान्यताको लडाइँको भूमिकामा उभिएर यसमा सफल हुन्छौं भन्ने विश्वास जाहेर गर्न चाहन्छु ।’

उहाँले आफूहरूलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको टिप्पणी गर्दै भन्नुभयो– ‘न यता जान दिने, न उता जान दिने । न ओलीको गतिविधिलाई रोक्ने । केही पनि नगर्ने । यो मौका समाप्त गरिदिने । अनि, हामीलाई सबै खाले आन्दोलनबाट वञ्चित गराउने षड्यन्त्रलाई हामी चिर्छाैं । कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्ने हाम्रो यो अभियान जारी रहनेछ ।’

अष्टलक्ष्मी शाक्य सहमतिमै वागमती प्रदेशको मुख्यमन्त्री बन्नुभएको बताउँदै नेपालले अहिले शाक्य पनि अप्ठ्यारोमा पर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘जब पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था हुन्छ, त्यति बेला उहाँमा भर पर्ने कुरा हो, नयाँ पार्टी बनिसकेपछि कुन पार्टी रोज्ने भनेर प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रतिनिधिहरुको हकमा पनि २१ दिनको समय हुन्छ । त्यो समयमा उहाँले कता रोज्नुहुन्छ, त्यो आधारमा यो सरकारलाई कसरी हेर्ने भन्ने तय हुनेछ ।’ नयाँ पार्टी दर्ता गर्नका लागि केन्द्रीय सदस्य र सांसदहरुको २० प्रतिशतभन्दा बढी संख्या रहेको पनि उहाँले बताउनुभयो ।

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा १७ जना पदाधिकारीसहित १ सय ५१ केन्द्रीय कमिटी रहने विधानमा उल्लेख गरिएको छ । पार्टीको विधानमा उल्लेख गरिएअनुसार केन्द्रीय कमिटी अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २, सचिव ७ गरी जम्मा १७ जना पदाधिकारीसहित १ सय १५ पूर्ण र ३६ वैकल्पिक गरी जम्मा १ सय ५१ सदस्यीय हुने व्यवस्था छ । विधानमा कमिटीका पदाधिकारी र सदस्यहरू राष्ट्रिय परिषद्बाट निर्वाचित हुने र उनीहरू राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषद्प्रति उत्तरदायी रहने व्यवस्था छ ।

त्यसै गरी, विधानमा राष्ट्रिय परिषद्बाट नयाँ केन्द्रीय कमिटी निर्वाचित भएपछि पुरानो केन्द्रीय कमिटी स्वतः विघटन हुने व्यवस्था पनि छ ।