रोमाको सुखद शुरूवात


रोमा, (एजेन्सी) ।

इटालियन सिरी ए लिग फुटबलमा रोमाले सुखद शुरूवात गरेको छ ।

आइतबार राति भएको खेलमा फिओरेन्टिनालाई ३–१ गोलअन्तरले पराजित गर्दै रोमाले सुखद शुरूवात गरेको हो । जोसे मोरिन्होको टिम रोमालाई जित दिलाउन जोर्डन भेरेटोउटले दुई गोल गरे । जसमध्ये हेन्रिख मिखीतार्यानको नाममा एक गोल रह्यो । यसै खेलबाट ट्यामी अब्राहमले रोमाका लागि डेब्यु गरे । उनले दुई गोलका लागि असिस्टसमेत गरे ।

यता फिओरेन्टिनाका निकोला मिलिन्कोभिचले एक गोल फर्काए । खेलमा दुवै टिम १० खेलाडीमा समेटिएको थियो । रोमाका निकोलो जानिलो दोहोरो पँहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । फिओरेन्टिनाका बार्टलोमिज ड्रागोस्व्कीले सीधै रातो कार्ड पाएका थिए ।

त्यस्तै, इटालियन जाइन्ट युभेन्टसले सिरी ए मा निराशाजनक शुरूआत गरेको छ । लिगको पहिलो खेलमा शुरूवातमै लिएको दुई गोलका अग्रता जोगाउन नसक्दा युभेन्ट्स उडिनेससँग निराशाजनकरूपमा २–२ को बराबरीमा रोकियो ।

खेलमा युभेन्ट्सका लागि पाउलो डिबाला र जुआन क्वाडराडोले गोल गरे भने उडिनेसका रोबेर्टो पेरोर्या र जेरार्ड डेउलोफेउलो गोल गरे । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको युभेन्ट्सले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । रोड्रिगो बेन्टानकुरको पासमा गोल गर्दै पाउलो डिबालाले युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

खेलको २३औं मिनेटमा क्वाडराडोलाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । उनले डिबालाको पासमा गोल गरेका थिए । तर, खेलको ५०औं मिनेटमा पेरेर्याले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । युभेन्ट्सका गोलकिपर सेजेनीले उडिनेसका खेलाडीलाई डिबक्सका लडाएपछि पेनाल्टी पाएको थियो ।

खेलको ८३औं मिनेटमा डेउलोफेउले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । युभेन्ट्सले लिगको शुरूवाती खेलमा दुई गोल बेहोरेको यो इतिहासमै तेस्रोपटक हो । यसअघि सन् १९९८ मा पेरुगिया र सन् २०१८ मा चिइभोसँग युभेन्ट्सले लिगको पहिलो खेलमा दुई गोल बेहोरेको थियो ।