लकडाउनले जन्मियो खुसीको एउटा ग्लास


२०१० मा ओस्कार इन्टरनेसनल कलेजमा अध्ययन गर्नेे क्रममा शुरू भएको सुदीप भजु, विकास न्यौपाने र सञ्जीव रत्न शाक्य त्यही समयदेखि नै कला क्षेत्रमा सहकार्य गर्दैै आइरहेका छन् ।

यसलाई अगाडि बढाउने क्रममा यी तीन जना फिल्मका विद्यार्थीले थुप्रै फिचर फिल्ममा सहनिर्देशकको रूपमा काम गरे। सुदीप, विकास र सञ्जीवले रियालीटी शो हिमालय रोडिजको तीन भाग सम्म सह—निर्देशक र एपिसोड निर्माता तथा को बन्छ करोडपतिमा सुदीपले सह निर्देशक एवं विकास र सञ्जीवले एपिसोड निर्माताको रूपमा काम गरे । उत्साहका साथ काम गरिरहेका बेला अचानक विश्व महामारीका रूपमा फैलिएको कोरोना संक्रमणको पहिलो चरणमा लकडाउन लागेपछि अरू जस्तै यी तीन पनि खाली भए । खाली समयमा के गर्ने, तीनै जना घोरिए । निष्कर्ष निस्क्यो लकडाउनलाई नै विषय बनाएर किन काम नगर्ने ?

यही निष्कर्षका साथ कोरोना भाइरस संक्रमणको जोखिम कारण लगाइएको निषेधाज्ञाको समयमा विभिन्न व्यक्तिको अनुभवलाई समावेश गरेर वेब सिरिज अ ग्लास अफ ह्याप्पिनेस निर्माण बनाउने निधो गरे। चर्चित छायाँकार सुदीप बरालको निर्माणमा सुदीप भजु, विकास न्यौपाने र सञ्जीवरत्न शाक्यको लेखन तथा निर्देशन रहेको उक्त वेब सिरिज कुल ४ भागमा छ। निर्माता, छायांकार तथा ओटीटी मार्केट प्रवर्तक सुदीप बरालका अनुसार उनले विषय वस्तु बलियो भएका कारण यो वेब सिरिज निर्माण गरेका हुन् । बरालले यो वेब सिरिजले नेपाली फिल्मको ग्लोबल प्लेटफर्म विस्तार गर्न सघाउने विश्वास व्यक्त गर्दै अ ग्लास अफ ह्याप्पिनेस भिडियो पसल, डिस होम, नेट टिभीलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय एपतथा वेब सर्फरहरूमा हेर्न सकिने तर युट्युबमा अपलोड नहुने प्रस्ट्याए ।

उक्त वेब सिरिजमा लकडाउनमा फसेका नवविवाहित जोडी, विवाहित जोडी तथा किशोरावस्थाका साथीहरू गरी तीन फरक—फरक कथा समावेश गरिएको यसको लेखन र निर्देशन समूहले जनाएको छ । ‘वेब सिरिजमा लकडाउनका समयमा फसेका तीन फरक—फरक जोडीको कथा व्यथा समेटिएको छ । उनीहरूमध्ये लकडाउनमा कसैको राम्रो एक्सिपिरियन्स हुन्छ भने कसैको नराम्रो एक्सपिरियन्स हुन्छ’ सिरिजका लेखक तथा निर्देशक मध्येका सुदीप भजेल भन्छन् ।

निषेधाज्ञाका कारण मानिसको जीवन र सम्बन्धमा आएको विभिन्न परिस्थिति र परिवर्तनलाई विषयमा बनाएर वेब सिरिज निर्माण भएको सुदीपले बताए । ‘हामी पहिलेदेखि नै फिल्म, डकुमेन्ट्री तथा वेब सिरिज बनाउँदै आएका थियौँ र अर्को सिरिज बनाउने सोच राख्दै गर्दा कोरोना जोखिमका कारण पहिलो चरणको लकडाउन भएपछि यही विषयमा मानिसको भोगाइलाई फन्नी र इम्प्रेसिङ वेमा कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने सोच्दै गर्दा आफ्नो वरिपरिको सर्कल र अलि अलि आफ्नो पनि भोगाइ मिसाएर मिनी सिरिजको बनाउने प्लान बन्यो । सोही अनुरूप यो प्रोजेक्ट तयार भएको हो’ उनले भने।

यो वेब सिरिजमार्फत चाहे जुनसुकै सम्बन्ध किन नहोस्, सम्बन्धमा समझदारी हुनुपर्छ भन्ने सन्देश दर्शकले लिन सक्ने यसको लेखक निर्देशक मध्येका अर्का एक विकास न्यौपाने बताउँछन् । ‘केही समययता अन्य प्रोजेक्टमा व्यस्त भएका कारण हामी तीन साथीले आफ्नै काम नगरेको धेरै भएको थियो । यो समयमा सधैं आइरहेको भन्दा केही फरक दर्शकमा झल्याऊँ भन्ने सोचले यो वेब सिरिज तयार पारेका हौँ । जुन हेर्दा दर्शकले ए यो त हाम्रै कथापो रहेछ भन्ने महसुस गर्नेछन्’ उनी भन्छन् ।

वेब सिरिजमा मेनुका प्रधान, रञ्जना भट्टराई, अनु दाहाल, निकिता आचार्य, गौरव विष्ट, सु्दीप भजु, विकास न्यौपानेले अभिनय गरेका छन् भने उज्ज्वल बस्ताकोटीको छायांकन रहेको छ । ‘हामी तीन जना सुरुदेखि नै जुनसुकै काममा सँगै सहभागी हुँदै आइरहेका छौँ’ विकास भन्छन् । कलेजमा शुरू भएको उनीहरूबीचको दोस्ती करियरसम्म पनि जोडिइरहेकोे छ।

यी तीन जनाले बनाएको शर्ट फिल्म न्यु रिक्विडले नेपाली सेनाले प्रत्येक वर्ष आयोजना गर्दै आएको लघु फिल्म फेस्टिभलमा २०११ तथा २०१४ मा शुभारम्भबाट प्रथम पुरस्कार जितेको थियो । उनीहरूले नै २०१५ मा बनाएको सिमलको भुवा जस्तै नामक सर्ट मुभी विभिन्न फेस्टिभलमा सहभागी भएको थियो भने उनीहरूले २०१७ मा तयार पारेको अर्को सर्ट फिल्म लक्ष्मनिया १९ फिल्म फेस्टिभलमा सहभागी भएको थियो र २/३ ओटा अवार्ड पनि जितेको थियो ।

उनीहरूको वेब सिरिज अ ग्लास अफ ह्याप्पिनेसमा किशोरराज खाँण सह निर्माता रहेका छन् भने यो बेब सिरिजको प्रवद्र्धन ओएसआर डिजिटलले गरेको छ ।