ज्येष्ठ नागरिकका लागि भवन बनाउनुभन्दा सञ्चालन गर्नु कठिन : प्रधानमन्त्री

84
Shares

नेपाल समाचारपत्र, ललितपुर ।

ज्येष्ठ नागरिकहरूलाई गुणस्तरीय सेवा सुविधा दिने उद्देश्यले ललितपुरको बागडोलमा नवनिर्मित ज्यापू समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गर्नुभएको छ ।

ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनका अनुसार सो भवन १४ करोड रुपैयाँको लागतमा तयार भएको हो । १ रोपनी १३ आना क्षेत्रफलमा बनाइएको भवन तयार गर्न करिब १० वर्ष लागेको थियो । स्वर्गीय अष्टमान महर्जनले भवन बनाउन जग्गा दान गर्नुभएको थियो । पाँच तल्ले सो भवन मौलिक कलात्मक शैलीमा बनाइएको छ । स्वर्गीय अष्टमान महर्जनले भवन बनाउनको लागि जग्गा दान दिनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले वृद्धाश्रमको लागि मौलिक कलासंस्कृति झल्किने भवन तयार भएकोमा खुसी प्रकट गर्दै सो भवन सञ्चालनको लागि सरकारले यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ज्येष्ठ नागरिकहरूको लागि भवन बनाउनुभन्दा सञ्चालन गर्नु कठिनाइ रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘यस कार्यमा सरकारले केही न केही सहयोग गर्दछु ।’

प्रधानमन्त्री देउवाले नेपालको कला संस्कृति, सम्पदाको संरक्षणमा नेवाः समुदायको महत्वपूर्ण भूमिका रहेको पनि सराहना व्यक्त गर्दै ज्येष्ठ नागरिक भवन सोही कला र संस्कृतिको उपज रहेको धारणा राख्नुभयो ।

समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन नेवाः समुदायको कला, संस्कृति, भाषा विशिष्ट योगदान रहेको बताउँदै त्यसको संरक्षणमा सरकार गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही अवसरमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले धन, सम्पत्ति, जग्गा जमिनको लागि मारकाट हुने गरेको सन्दर्भमा स्वर्गीय महर्जनले सामाजिक हितको लागि जग्गा दान गर्नुको नैतिक सन्देश महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

समारोहमा वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वृद्धाश्रम भवन सबैको त्याग, तपस्या र मिहेनतले बनेको उल्लेख गर्दै कलात्मक शैलीमा बनाइएको सो भवन वागमती प्रदेशकै ठूलो सम्पत्ति रहेको बताउनुभयो ।

सो अवसरमा नेपालको लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो भवन नेपाल र भारत मिलेर सामाजिक हितको लागि गरेको एउटा महत्वपूर्ण काम रहेको बताउनुभयो । समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन भवन सञ्चालनको लागि महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाजका वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनका अनुसार भवन बनाउन भारत सरकारले पाँच करोड रुपैयाँ, वागमती प्रदेश सरकारले २ करोड ९१ लख ६१ हजार ३ सय ५५ रुपैयाँ, ललितपुर महानगरपालिकाले ३ करोड १४ लाख ८२ हजार ७ सय रुपैयाँ, संविधानसभा सदस्यको सांसद् विकास कोषबाट १८ लाख ३६ हजार ९ सय १८ रुपैयाँ, पम्फा भुसालको सांसद् विकास कोषबाट १४ लाख ६३ हजार ८ सय ३५ रुपैयाँ, रामकाजी अवालले ८ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, किसलाल महर्जनले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको थियो ।