अब विद्यालयमा निदाउँदैनन् विद्यार्थी

14
Shares

हेटौंडा, (नेस) ।

विद्यालयमा दैनिक ९ वटा विषयको पढाइ हुन्छ । सबै किताब, कापी र झोलाको भारी बोकेर जान सक्दैनन् उनीहरु ।

त्यसैले किताब पालैपालो बोक्छन् । बेञ्चमा सँगै बस्ने साथीसँग कसले कुन विषयको किताब बोक्ने भन्ने सल्लाह गरेका हुन्थे उनीहरुले ।

त्यसकारण उनीहरु ४/५ वटामात्र किताब बोक्थे । केही गरी साथीले किताब बोक्न बिस्र्याे अथवा विद्यालय आएनन् भने सँगै बस्ने ३/४ जनाले एउटै किताब हेरेर पढ्थे । यसरी पढ्नुपर्दा राम्ररी पढ्न नसकेको उनीहरुको अनुभव थियो ।

सामान्यतः विहानको खाना खाने समय १० बजेतिर हो । तर, विद्यालय जानुपर्नेहरु भने ९ बजे खाना खान्छन् । त्यो भन्दा चाँडै खाना खानुपर्ने बाध्यता भयो भने कि हट्केसमा खाना बोक्छन् । तर, किरण गोले (१३) र प्रशान्त तामाङ (११) को हकमा भने यी सबै कुरा लागु हुँदैनन् । कक्षा–६ मा अध्ययनरत् उनीहरुले विहान ७ नबज्दै खाना खाइसक्नुपर्छ । सामान्यतः यो चिया खाने समय हो । तर, अन्य विद्यार्थी चियाको चुस्की लिँदै ‘होमवर्क’ गरिरहँदा उनीहरु भने भ्याइनभ्याइ गरी खाना खाएर विद्यालय दौडिरहेका हुन्छन् ।

विहान ताजा खाना पकाउन सम्भव हुँदैन । ‘तरकारी पकाउने, भात हिजोकै खाने,’ किरण भन्छन् । कुनै दिन केही गरी बासी भात सकियो र खाना पकाउन भ्याइएन भने कि उनीहरु भोकै हिँड्नुपर्छ कि त विद्यालयमा शिक्षकको ‘कारबाही’ भोग्न तयार हुनुपर्छ । किनकि, गोले र तामाङलाई विद्यालय पुग्न करिब २ घण्टा हिँड्नुपर्छ । त्यसकारण पनि उनीहरुलाई विहान साढे ६ बजेदेखि पौने ७ बजेभित्र खाना खाइसक्नुपर्ने बाध्यता छ ।

यो कुनै दुर्गम जिल्लाका विद्यार्थीको व्यथा होइन, सुगम मानिने बागमती प्रदेशको मकवानपुरका विद्यार्थीको समस्या हो । नेपालकै पुरानो त्रिभुवन राजपथ (बाइरोड) आसपासका विद्यार्थीको पीडा हो यो ।

उनीहरु बाटोमा उभिएर सुमोको प्रतीक्षा गर्थे । बाटोमा सुमोले रोकेर ल्याइदिए पढाइ भ्याइन्थ्यो, नत्र पढाइ छुट्थ्यो । विद्यालय छुटेर घर फर्कंदा पनि समस्या उस्तै । विद्यालय छुट्टी भएपछि सडकमा बसेर सुमोलाई हात हल्लाउँदैमा घण्टौं बित्ने गथ्र्यो । सुमोले रोकिहाले उज्यालोमै घर पुगियो, नत्र अ“ध्यारो नभइ घर पुग्न नसकिने समस्या विद्यार्थीमा थियो ।

सोही सुमोहरुको भरमा विद्यालय आउजाउ गर्ने बालबालिका तथा आफ्ना छोराछोरीको ज्यानको बाजी राखेर विद्यालय पठाउने अभिभावकलाई अब भने ढुक्क हुने भएको छ । बागमती प्रदेश सरकारले भीमफेदी–६ मा रहेको महेन्द्रकिरण माध्यमिक विद्यालयलाई विद्यालय बस खरिद गरी हस्तान्तरण गरेपछि अब आफ्ना बालबालिकालाई सुमोको हुटमा बसेर यात्रा गर्नुपर्ने जोखिम हट्ने भन्दै स्थानीय खुशी छन् ।

महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमारसिंह लामा प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगले सयौं बालबालिकाको दुर्घटनाको जोखिम कम गरिदिएको बताउनुहुन्छ । देउरालीदेखि जुरेखेतसम्म करिब २ सय विद्यार्थी भीमफेदी बजारसम्म आउनुपर्ने बताउँदै गाडी नपाएकै कारण सबै विद्यार्थीले संधै पढ्न पाउने स्थिति नभएको प्रअ लामाले बताउनुभयो ।

विद्यालयले सवारी किनेर सुबिधा दिनसक्ने अवस्था थिएन । विद्यार्थीहरु गाडी नपाएर घर जान नपाएको बेला यतै भएका आफ्ना साथीहरुको घरमा बस्ने गरेका थिए । सुमोमा पनि सबै सिटमा यात्री राखेर ल्याएका हुन्छन् । कुनै सुमोचालकले दया लागेर रोकेर हुटमा राखेर ल्याउने लैजाने गरिदिन्थे । तर, धेरैजसोले बच्चाहरु लड्लान् अथवा दुर्घटना होला भन्ने डरले रोक्न मान्ने गर्थेनन् । अब भने विद्यार्थी र शिक्षकहरु जोखिम मोल्नुपर्ने अवस्था छैन ।

बालबालिको सिंगो अभिभारा रहेको स्थानीय निकायले ठूलो उपलब्धि हासिल गर्न सफल भएको पालिकाका जनप्रतिनिधिले प्रतिक्रिया दिएका छन् । घरबाट विद्यालयका लागि निस्किएका आफ्ना छोराछोरी कुन बेला विद्यालय पुगे, कुन बेला घर आइपुग्छन् भन्नेसमेत थाहा नहुने अभिभावकको चिन्ता अब संधैका लागि हट्ने पालिका उपाध्यक्ष पार्वती रानाले बताउनुभयो ।

नेपालकै चौथो पुरानो उक्त विद्यालयका बालबालिकाको सपना पूरा भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–पालिकाको विद्यालयका धेरै विद्यार्थीले निकै समस्या भोग्दै आएका थिए । एउट सपना पूरा भएको छ ।

४२ सिटको क्षमता रहेको स्कुल बस खरिद गरेर विद्यालयलाई हस्तान्तरण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । घण्टौं हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी प्रदेश सरकारले आवश्यकताका आधारमा प्रदेशका सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गर्दै आएको छ ।