नागरिकको सुरक्षा र जीवन रक्षा सरकारको मुख्य जिम्मेवारी


नेपाल समाचारपत्र, काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाँणले बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरी राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बलको काम कारबाहीका बारेमा जानकारी लिनुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापना कालदेखि नै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिबद्ध रही राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रमा अहोरात्र क्रियाशील रहँदै उत्कृष्ट कार्यसम्पादन गर्दै आइरहेको भन्दै सशस्त्र प्रहरी बलको प्रशंसा गर्नुभयो । कोभिड–१९ महामारीले देशमा गम्भीर क्षति पुर्‍याइरहेको यस अवस्थामा नेपाल एपीएफ अस्पतालका स्वास्थ्यकर्मीले आम नागरिकको स्वास्थ्य उपचारमा पुर्‍याएको योगदान तथा सीमा नाकामा आवतजावत नियन्त्रण र क्वारेन्टाइनमा खटिएर सशस्त्र प्रहरी कर्मचारीले महामारी व्यवस्थापनमा प्रदर्शन गरेको जिम्मेवारी निर्वाहको पनि मन्त्री खाँणले मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

गृमहन्त्री खाँणले सशस्त्र प्रहरी बल नेपालले सीमित साधन स्रोतको अधिकतम उपयोग गर्दै देशका विकट स्थानमा खटिई सीमा सुरक्षा, नागरिकको सेवा, सीमा अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, विपद् प्रकोप पीडितको उद्धारमा प्रशंसनीय कार्य गर्दै आइरहेको जिकिर गर्दै आम नागरिकको सुरक्षा र जीवन रक्षा नेपाल सरकारको मुख्य जिम्मेवारी रहेको समेत बताउनुभयो ।

सो समारोहमा गृहसचिव टेकनारायण पाण्डेले शान्ति सुरक्षा तथा आम नागरिकको सेवा, सीमा सुरक्षा, विपद् प्रकोपमा उद्धार, कोभिड–१९ महामारी व्यवस्थापन लगायतका विविध जिम्मेवारीहरूमा सशस्त्र प्रहरी बल नेपाल उत्कृष्ट कार्यसम्पादनमा क्रियाशील रहेको उल्लेख गर्नुहुँदै देशभरका विभिन्न ठाउँमा खटिएर तथा द्वन्द्वग्रस्त मुलुकहरूमा समेत विभिन्न संयुक्त राष्ट्रसंघीय मिसनमा खटिएर विश्वशान्ति स्थापनार्थ पुर्‍याएको योगदानको समेत प्रशंसा गर्नुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपालले सीमित साधनस्रोत जनशक्तिका बावजुद पनि विविध आधुनिक प्रविधिलाई समेत आत्मसाथ गर्दै हालका दिनहरूमा प्राप्त गरेको उपलब्धिको मुक्तकण्ठले प्रशंसा गर्दै संगठनलाई आवश्यक साधन स्रोत तथा जनशक्ति थपका लागि आफूले पहल कदमी लिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले भ्रष्टाचार, मानवअधिकार उल्लंघन तथा लैंगिक हिंसामा शून्य सहनशीलताको नीति कडाइका साथ पालना गर्दै संगठन अगाडि बढिरहेको बताउनुभयो ।

महानिरीक्षक खनालले शान्ति सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, विपद् प्रकोप पीडितको उद्धार, लगायतका नेपाल सरकारबाट प्राप्त विविध जिम्मेवारीहरूमा देशको उत्तरी सिमानाको विकट भूगोलदेखि दक्षिणी सिमानाको प्रचण्ड गर्मी रहेका स्थानहरूमा गण, गुल्म र बीओपीका माध्यमबाट तैनाथरही सशस्त्र प्रहरी कर्मचारीहरूले इमान्दार, अनुशासित, कर्तव्य परायणता एवं पूर्णव्यवसायिक भई अहोरात्र कार्यक्षेत्रमा परिचालित रहँदै जिम्मेवारी निर्वाहमा कटिबद्ध रहँदै निरन्तर कार्यक्षेत्रमा क्रियाशील रहिरहेको बताउनुभयो ।

उहाँले कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण र उपचार लगायतका विविध जिम्मेवारीहरूमा कर्तव्यनिष्ठ भई घामपानी, भोकतिर्खा र हुरीबतासको पर्वाह नगरी सशस्त्र प्रहरी कर्मचारीहरूले कार्यक्षेत्रमा प्रदर्शन गरेको पूर्ण व्यावसायिकताको प्रशंसा गर्नुभयो ।

महानिरीक्षक खनालले सीमा सुरक्षा तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ५ सय बीओपी स्थापना गर्ने लक्ष्यबमोजिम यस आर्थिक वर्षमा १ सय २० वटा बीओपी स्थापना गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि संगठनलाई आवश्यक जनशक्ति, स्रोतसाधन, हातहतियार, जग्गा प्राप्ति एवं भौतिक पूर्वाधार लगायतका विषयमा माननीय गृहमन्त्री तथा गृहसचिवबाट सदा अभिभावकत्व र मार्गनिर्देशन प्राप्त हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।