प्रदेशमा एमाले जोगाउने प्रयास, वागमतीकी मुख्यमन्त्री बन्दै शाक्य

182
Shares

रोशन पराजुली, हेटौंडा ।

लामो रस्साकस्सीपछि नेकपा एमालेले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई वागमती प्रदेशको मुख्यमन्त्री बनाउने भएको छ । बुधबार हेटौंडामा बसेको एमाले वागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलकै प्रस्तावमा शाक्यलाई संसदीय दलको नेता चयन गर्दै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । दलको नेता बनेस‌ँगै शाक्यलाई मुख्यमन्त्री बन्ने मार्ग प्रशस्त भएको छ ।

माधव नेपाल पक्षमा रहनुभएकी उहाँलाई मुख्यमन्त्री बनाउने तयारीसाथ मुख्यमन्त्री पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिनुहुने भएको छ । नेपाल पक्षकी निकै प्रभावशाली नेतृ तथा केपी ओलीका कट्टर आलोचक रहनुभएकी शाक्य प्रदेश संसदीय दलको नेता चयन हुनुभएको हो ।
शाक्य पार्टी विभाजनको विपक्षमा उभिएर माधव नेपालको साथ छाडेपछि मुख्यमन्त्री पौडेललाई पदबाट राजीनामा गराएर उहाँलाई मुख्यमन्त्री बनाउन लागिएको हो । शाक्यले पार्टी विभाजनको अन्तिम समयमा वागमती प्रदेशलाई विभाजनबाट मुक्ति दिलाउन धार परिवर्तन गरेपछि वागमतीमा नयाँराजनीतिक घटनाक्रम विकास हुन लागेको हो ।

बुधबार शाक्यलाई सर्वसम्मतरूपमा संसदीय दलको नेतामा चयन गर्दा ४९ सांसदको उपस्थिति थियो भने ७ सांसद अनुपस्थित थिए । एमाले वागमती प्रदेश संसदीय दलका नेता शाक्यले बिहीबार मुख्यमन्त्रीको शपथ लिने हुनुभएको छ । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईं गृह जिल्ला झापामा रहनुभएकाले बुधबार शाक्यले शपथ लिन नमिलेको हो । प्रसाईं झापाबाट फर्केलगत्तै बिहीबार मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम तय भएको बताइएको छ ।

नयाँदल दर्तासम्बन्धी प्रक्रिया अघि बढिरहेको र एमाले विभाजनको अन्तिम तयारी भइरहेका बेला त्यसको प्रभाव सबभन्दा पहिले वागमती प्रदेश सरकारमा देखिएको हो । यसको प्रभाव अन्य प्रदेशमा पनि पर्ने देखिएको छ ।

२०१० असोजमा झोंछे, काठमाडौंमा जन्मिनुभएकी शाक्य नेपालकी राजनीतिज्ञ तथा पूर्वमन्त्री हुनुहुन्छ । पञ्चायती व्यवस्थाविरुद्ध लड्नुभएकी उहाँले लामो समयसम्म भूमिगत रहेर काम गर्नुभएको थियो । शाक्य काठमाडौं क्षेत्र नम्बर–८ को (ख) बाट प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।

नेकपा एमाले विभाजन भएपछि राजनीतिक र प्राविधिकरुपमा पौडेलको सरकार स्पष्ट अल्पमतमा थियो । एमालेको माधव पक्ष र ओली पक्ष दलगत हिसाबले एउटै भएकाले पौडेलको सत्ता टिकिरहेको थियो । यसअघि पनि बारम्बार पौडेललाई मुख्यमन्त्रीबाट राजीनामा दिन एमालेकै माधव पक्षका सांसदहरुले माग गर्दै आएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकै दिन यस्तो निर्णय आएको हो । राष्ट्रपति भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नयाँदल दर्ताको प्रक्रिया शुरु गरेस“गै एमालेको माधव नेपाल समूहभित्र विभाजन आउन थालेको छ ।

सरकारले नयाँदल गठनका लागि खुकुलो प्रावधानसहित अध्यादेश ल्याएपछि माधव नेपाल समूह उत्साहित भए पनि उक्त समूहभित्र विभाजन आउन थालेको देखिएको हो ।