नेपालकोे नेतृत्वमा एमाले समाजवादी, ठाकुरको नेतृत्वमा जसपा लोकतान्त्रिक

224
Shares

सुनील महर्जन, काठमाडौं ।

सरकारले दल विभाजनको प्रावधान खुकुलो हुने गरी अध्यादेश जारी भएसँगै बुधबार निर्वाचन आयोगमा दुईवटा नयाँ दल दर्ताका लागि निवेदन परेको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाएर आफ्नै नेतृत्वमा नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि आयोगमा निवेदन दिनुभएको छ । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट अलग भई महन्थ ठाकुर पक्षले नयाँ दल जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ताका लागि आयोगमा निवेदन दिएको छ । एमाले समाजवादी पार्टीको चुनाव चिह्न खुला किताब र जसपा लोकतान्त्रिक पार्टीको चुनाव चिह्न साइकल प्रस्तावित गरिएको छ । एमाले समाजवादी पार्टीको चुनाव चिह्न कलम पनि हुन सक्ने सम्भावना छ ।

लामो समयदेखि ओलीको व्यवहार र कार्यशैलीको विरोध गर्दै आउनुभएका नेता नेपालले दुईपटक प्रतिनिधिसभाको विघटन गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीको उक्त कार्यकोे विरोध गर्दै नेपाली कांग्रेस, जसपालगायतको दलीय गठबन्धनमा लाग्नुभएको थियो । आफ्नै दलको अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट हटाउन गठबन्धनलाई साथ दिनुभएको थियो । ओलीसँगको लगातार संघर्षपछि अन्ततः पार्टी विभाजन गर्दै नेता नेपालले नयाँ दल दर्ताका लागि निवदेन दिनुभएको थियो । नवगठित एमाले समाजवादी पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीलगायत आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिनुभएको र त्यसपछि नेता नेपाल आयोग पुग्नुभएको थियो ।

नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहनुहुनेछ भने वरिष्ठ नेता झलनाथ खनालसहित ९५ केन्द्रीय सदस्य बनाइएको छ । नेता राजेन्द्र पाण्डेका अनुसार आयोगमा एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुवै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएका छन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेता नेपाल र ठाकुर पक्षका नेताहरूलाई नयाँ दल दर्ताका सहज भएको हो ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐन–२०७३ मा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । सो ऐनको दफा ३३ को उपदफा २ मा कुनै दलको केन्द्रीय समिति र संघीय संसद्का संघीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरूसमेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन भन्ने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

जसपाको आधिकारिता उपेन्द्र यादवले पाएपछि महन्थ ठाकुरले सो पार्टीको साधारण सदस्यमै चित्त बुझाउनुपरेको थियो । त्यसअगाडि ठाकुर जसपा अध्यक्ष हुनुहुन्थ्यो । आयोग पुग्नुभएका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार २३ सदस्यीय केन्द्रीय कार्यकारिणीे रहने जसपा (लोकतान्त्रिक)मा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेतामा महतो आफैं रहनेछन् ।

जसपामा नेपालमा हाल रहेका ५१ सदस्यीय कार्यकारिणी सदस्य रहेका छन् । नयाँ पार्टीमा २३ सदस्यहरू रहने बताइएको छ । त्यस्तै, पार्टीका ३७ सांसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा) मध्ये ठाकुर पक्षमा १४ जना सांसद रहेका छन् । नयाँ अध्यादेशअनुसार यति संख्या पार्टी विभाजनका लागि पर्याप्त रहेको छ ।

नयाँ दल दर्ताका लागि दिएको निवेदन ऐनअनुसार भए/नभएको हेरेर दर्ताका लागि प्रक्रिया अघि बढाइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । ऐनको दफामा रहेको दल दर्तासम्बन्धी प्रावधानमा दलको प्रमुख पदाधिकारीले केन्द्रीय समितिको निर्णयसहित दलको विधान, घोषणापत्र, झण्डा, चिह्नको नमुनालगायतका कागजात कागजसहित दर्ताका लागि निवेदन दिनुपर्नेछ ।

प्रस्तावित दल संविधान र ऐनबमोजिम दर्ता हुन सक्ने देखिएमा आयोगले उपदफा (१) बमोजिम निवेदन परेको ४५ दिनभित्र त्यस्तो दल दर्ता गरी दल दर्ता प्रमाणपत्र र दर्ता हुन नसक्ने भए त्यसका कारण खुलाई निवेदकलाई जानकारी दिनुपर्ने प्रावधान रहेको छ ।