रूपान्तरित तालिवानी ?


अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि त्यहाँको राजनीतिक परिवर्तन जति तीव्र र नाटकीयरूपमा भयो त्यो आफैंमा सरल र बोधगम्य छैन । इस्लामिक कट्टरतावादी तालिवानी विद्रोहीले सबै पूर्वकर्मचारीलाई आममाफी दिने र नयाँ बन्ने मन्त्रीमण्डलमा महिलाको सहभागिता पनि गराउने जुन जानकारी बाहिर आएको छ, त्यसले एकैसाथ विभिन्न पक्षमा सोच्न बाध्य बनाउँछ । तालिवानीहरू आए भने इस्लामिक धार्मिक कानुन ‘सारिया ल’ लगाउँछन्, व्यापार–व्यवसाय गर्न दिँदैनन्, स–साना दोषका लागि मृत्युदण्ड सुनाउँछन् र मानव विकासका हरेक सूचकांकलाई उल्टाउँछन् भन्ने चिन्ताकै कारण तालिवानीविरुद्ध लोकतान्त्रिक विश्व खडा भएको थियो, तर शुरूका संकेत भिन्न देखिएका छन् ।

तालिवानी विद्रोही पक्षले मुलुकका प्रान्तहरू नियन्त्रणमा लिँदै राजधानी काबुलतिर तीव्र गतिले बढेपछि जनतालाई अलपत्र छोडेर भागेका राष्ट्रपति मोहम्मद असराफ घानी अहमदजाइको व्यवहारको भने अलि आलोचना भएको छ । सन् २०१४ देखि सत्तामा रहेका घानीले देश छोड्नुभन्दा देशमै रहेर नागरिकलाई सम्बोधन गर्दै तालिवानीलाई समयसापेक्ष ढंगले सरकार सञ्चालनका लागि सत्ता छोडिदिएको घोषणा गर्नसक्थे । त्यसो गरेको भए काबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा जुन हिंसात्मक अवस्था सिर्जना भयो, त्यो रोकिन सक्थ्यो । तालिवानी कमान्डर तथा सशस्त्र हक्कानी नेटवर्क समूहका वरिष्ठ नेता अनास हक्कानीले सरकार गठनका लागि बुधबार पूर्व राष्ट्रपति हमिद कारजाइलाई भेटेको बताइएको छ । उनीहरूले अमेरिकी सरकारलाई अफगानिस्तान छोडेर जान चाहनेलाई जान दिने जानकारी दिएको पनि बुझिएको छ । यसबीच तालिवानी पक्षलाई भित्रभित्रै सघाउँदैआएको भनिएको चीनले भने ‘पर्ख र हेर’ कै नीति लिएको छ । यद्यपि, उसले अमेरिका र अफगानको घानी तथा पूर्ववर्ती सरकारको अदूरदर्शी नीतिका कारण अफगानिस्तानमा आजको अवस्था सिर्जना भएको उनाउँदै आएको छ । अफगानिस्तानको पछिल्लो घटनालाई मानवीय भावनाका साथ हेर्ने र शरणार्थीहरू स्वीकार गर्ने प्रतिबद्धताहरू पनि विभिन्न मुलुकबाट प्रकट भएका छन् । बेलायतमा शरण लिन चाहने २० हजार निवेदकमध्ये यस वर्ष पाँच हजारसम्म लिन सकिने बेलायती सरकारले जनाएको छ । छिमेकी भारतले पनि अफगानी जनतालाई सघाउने बताएको छ तर सहयोगको स्वरूप कस्तो हुने खुलासा गरिएको छैन । विगत लामो समयदेखि अफगानिस्तानमा चल्दैआएको सशस्त्र विद्रोहको तातो राप छिमेकी पाकिस्तानले सहन गर्दैआएको छ । उसले अफगानिस्तानी नागरिकलाई पहिलादेखि नै आश्रय दिँदैआएकै छ ।

यसरी हेर्दा अफगानिस्तानको सत्ता परिवर्तनले जुन भयावह परिणाम ल्याउने अपेक्षा गरिएको थियो, त्यो भने भोग्नु पर्दैन कि भन्ने संकेतहरू देखिएका छन् । खास गरी तालिवानीको काबुल प्रवेशपछि पनि अफगानी किशोरीहरू विद्यालय जान थालेको जानकारी सबैका लागि सुखद विषय बनेको छ । टेलिभिजनको पर्दामा कार्यक्रम सञ्चालिका रूपमा महिला पनि देखिएका छन् । अबका तालिवानीहरू २० वर्ष पूर्वका होइनन् भन्ने टिप्पणी पनि शुरू भएको छ । हेरात प्रान्तमा किशोरीहरू कालो–सेतो पोशाक लगाएर बुधबार विद्यालय गएको देखिएको छ । विगत दुई साता मुलुकमा विद्रोही सक्रिय भएका कारण बन्द रहेका विद्यालय खुल्दा छात्रासहितको विद्यार्थीको भीड देखिएको हो । बेलायती सैनिक प्रमुखका अनुसार यसपटक तालिवानी बदलिएर सरकार चलाउनेछन् । आशा गरौं, यस्तै होस् !