सिनेमास्कोप फिल्मका प्रवर्धक छायाँकार राना रहेनन्



कुशल छायांकार तथा निर्माता भीम रानाले कोरोना संक्रमणबाट हुने कोभिड—१९ लाई जित्न सकेनन्। कोभिडसँग जुध्दा जुध्दै अन्तत: मंगलबार बिहान साँढे आठ बजे उनको निधन भयो।

झन्डै एक महिनादेखि कोभिडसँग जुधिरहेका उनको उपचारकै क्रममा बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी अस्पतालमा निधन भएको उनका सालो तथा फोटो पत्रकार प्रकाश माथेमाले जानकारी गराए। कोभिड संक्रमण भएपछि परिवारले उनलाई शुरूमा कीर्तिपुर आयुर्वेदिक चिकित्सालयमा भर्ना गरिएको थियो भने स्वास्थ्य समस्या बढ्दै गएपछि सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो। कोभिडका कारण निमोनियाले ग्रस्त उनको केही दिनयता आईसीयँ वार्डमा उपचार भइरहेको थियो। उनी ६२ वर्षका थिए।

भीमले आफ्ना मामा, तथा फिल्म निर्माता स्व. डीबी थापाले न्युरोडमा सञ्चालन गरेको नेपालकै प्रतिष्ठित र लोकप्रिय फोटो ल्याब फोटो कन्सर्नमार्फत स्टिल फोटोग्राफरका रूपमा करिअरको शुरूआत गरेका थिए। रानाले माइली, लव—कुश, वरमाला, राज्य, सम्झना, निशाना, राज्य, लाल सलामलगायतका थुप्रै फिल्मको छायांकन गरेका थिए भने मायाप्रिति, बादल, सौभाग्यलगायतका केही फिल्ममा अभिनयसमेत गरेका छन्। लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्माका अनुसार फोटो कन्र्सनमा काम गर्दादेखि नै फोटोग्राफीमा चाख राख्ने राना प्रतिभाशाली छायाँकार थिए। ‘बालाजुको तत्कालीन शाही नेपाल चलचित्र संस्थान डीबीजीले लिनुभएपछि चलचित्र विकास कम्पनीको रूपमा परिणत भएको थियो। जहाँ भीमजी पनि संलग्न हुनुहुन्थ्यो। पछि डीबीजीको स्वास्थ्यमा समस्या आएपछि सम्पँर्ण व्यवस्थापन भीमजीले हेर्न थाल्नुभएको थियो। कम्पनी उद्धव पौडेलजीले लिने बेलासम्म त्यहाँको सम्पँर्ण प्रबन्धको जिम्ममेवारी उहाँले नै सम्हाल्दै आउनु्भएको थियो’ शर्माले सम्झिए ‘उहाँले फिल्म माइलीमा काम गर्नुभएको सम्झना छ। हामीले एकै चलचित्रमा काम त गरेनाै, तर भेटघाट हुँदा निकै मिलनसार व्यक्ति हुनुहुन्थ्यो।’ रानाले चलचित्र विकास कम्पनीको सिइओका रूपमा सो संस्था हाँकेका थिए।

छायाँकार, निर्माता तथा निर्देशक मञ्जु कुमार श्रेष्ठका अनुसार ३५ एमएमको क्यामेराबाट छायांकन हुने नेपाली फिल्म क्षेत्रमा उक्त क्यामेराको पार्टपुर्जा फेरर नेपाल ल्याई व्यावसायिक रूपमा सिनेमास्कोप प्रविधिको शुरूवात गर्ने व्यक्ति भीम नै थिए। ‘त्यतिबेला डीबी थापाले फोटो कन्र्सनमा छायांकन तथा फोटोसम्बन्धी कामको लागि बोलाउनुहुन्थ्यो। म त्यहाँ गएको बेला भीमजी मैले गरेका कामहरू निकै ध्यान दिएर हेर्ने गर्नुहुन्थ्यो। एकपटक नेपालमै बनेको एक टुथपेस्टको विज्ञापन फोटो कन्र्सनले निर्माण गर्ने भयो र छायाँकार चाहिँ म थिएँ। नायिका शर्मिला मल्ल विज्ञापनमा मोडल हुुनुुहुन्थ्यो। ३५ एमएमको क्यामेराबाट छायांकन गरिरहेका थियौँ। छायांकन गर्दै गर्दा क्यामेराको मिररमा समस्या आयो। त्यो बेला मुम्बईमा मात्र क्यामेरा बनाइन्थ्यो। मुम्बईमा बनाउन लैजाँदा जान १५ दिन आउन १५ दिन लाग्थ्यो। मैले क्यामेरा बनाउन म ट्राई गर्छु भनेँ।

मैले क्यामेरा खोलेर बनाउन शुुरू गरेदेखि बनाउन्जेलसम्म रातभरि एकछिन पनि आँखा झिमिक्क नगरी भीमजीले चाख दिएर हेर्नुभएको थियो’ मञ्जुकुमार सम्झन्छन् ‘मैले उहाँ जत्तिको इन्ट्रेस्ट दिएर हेरेको अहिलेसम्म भेटको छैन। त्यतिबेला उहाँ १९-२० वर्षको हुनुहुन्थ्यो। त्यहीबेलामा नै यो केटाले केही गर्छ भन्ने सोचेको थिएँ। मामाको स्टुडियोमा बसेको कारण स्टिल फोटोग्राफीसम्बन्धी ज्ञान त थियो नै, नभन्दै पछि छायांकनसम्बन्धी पनि ज्ञान हासिल गरेर नेपालको ३५ एमएमको क्यामेरा मुम्बईबाट पार्टपुर्जा फेरर ल्याएर सिनेमास्कोप प्रविधिको व्यावसायिक प्रारम्भ गरेर देखाउनुभयो।’रानाको परिवारमा श्रीमती एक छोरा र एक छोरी रहेका छन्। अमेरिकामा रहेका छोरा बुधबार नेपाल आउने र बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने प्रकाश माथेमाले नेपाल समाचारपत्रलाई जानकारी गराए। रानाको निधनप्रति फिल्मकर्मीहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्