वरिष्ठ आयुर्वेद विशेषज्ञ डा कोइरालाको निधन


काठमाडौं ।

नेपाल आयुर्वेद चिकित्सक सङ्घका पूर्वअध्यक्ष एवम् वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ऋषिराम कोइरालाको निधन भएको छ ।लामो समयदेखि मुटुको समस्या झेल्दै आउनुभएका वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ६२ वर्षीय डा कोइरालाको हृदयाघातका कारण आज दिँउसो १ बजे ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको स्व कोइरालाका आफन्त मधुविलास पौडेलले राससलाई जानकारी दिनुभयो । उहाँलाई दुई हप्तापहिले हृदयाघात भएर उपचारका लागि ह्याम्स अस्पताल लगिएको थियो ।

विसं २०१५ भदौ २५ मा साबिक पुरानकोट गाविस–३ हाल बेँसीसहर नगरपालिका–४ मा जन्मनुभएका कोइराला काठमाडौंको धापासीस्थित आयुर्वेद हेल्थ होम प्रालिका सञ्चालकसमेत हुनुहुन्थ्यो ।नेपालको आयुर्वेदिक क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका कोइरालाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा प्रभु ऋषि आयुर्वेदसमेत सञ्चालनमा ल्याउनुभएको थियो ।

काठमाडौँको रानीवनमा आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउने तयारीमा रहनुभएका स्व कोइरालाले अमेरिका र युरोप पुगेर नेपालमा आयुर्वेद चिकित्सा क्षेत्रका सम्भावनाका बारेमा प्रवचन दिनुका साथै विरामीको स्वास्थ्य परीक्षण गर्दै आउनुभएको थियो । उहाँ क्लासिकल हर्बल प्रोडक्ट प्रालिका अध्यक्ष हुनुहुन्थ्यो ।

लमजुङको दुराडाँडास्थित सर्वोदय उच्च माध्यमिक विद्यालयमा कक्षा ६ सम्मको अध्ययन गर्नुभएका स्व कोइरालापछि नवलपरासी बसाइँसराइ गर्नुभएको थियो । हाल काठमाडौँको धापासीमा बस्दै आउनुभएका स्व कोइरालाका श्रीमती, दुई छोरा र एक नाति हुनुहुन्छ । उहाँका दुवै छोरा चिकित्सक हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारजनले बताएको छ ।