लुम्बिनी प्रदेशमा सरकार फेरिएपछि पहिलो प्रदेशसभाको नर्वाैं अधिवेशन आज


यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेशमा सरकार फेरिएपछिको पहिलो प्रदेशसभाको नर्वाैं अधिवेशन अर्थात हिँउदे अधिवेशन आजबाट शुरु हुँदैछ ।

संविधानको धारा १६८(२) अनुसार नियुक्त भएका मुख्यमन्त्री कुल प्रसाद केसीले संसदको विश्वासको मत लिने यो अधिवेशनको प्रमुख कार्यभार हुनेछ । आज दिउँसो १ बजेबाट प्रारम्भ हुने प्रदेशसभाको हिँउदे अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको  मत नलिने भएका छन् ।

छिट्टै विश्वासको मत लिने काम हुने निर्णय भए पनि विश्वासको मत लिने कार्यक्रम नरहेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले बताए ।संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अधिवेशनको पहिलो दिनमै विश्वासको मत लिएका कारण लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री केसीबाट त्यही शैली दोहो रिने अनुमान गरिएको थियो ।

सत्तारुढ गठबन्धन नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दीन खानले १–२ दिनमै विश्वासको मत लिने प्रस्ताव संसदमा जाने बताए । बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउने तथा नवनियुक्त मुख्यमन्त्रीलाई शुभकामना दिने कार्यक्रम रहेको छ । मुख्यमन्त्री केसीले प्रदेशसभाबाट विश्वासको मत लिए पछि मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेको बुझिएको छ ।