टोटेनह्यामद्वारा सिटी स्तब्ध

84
Shares

लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिग फुटबलका डिफेन्डिंग च्याम्पियन म्यानचेस्टर सिटी नयाँ सिजन २०२१–२२ को पहिलो खेलमै टोटेनह्यामद्वारा स्तब्ध भएको छ ।

आइतबार राति भएको सिजनको पहिलो लिग खेलमा सिटीलाई टोटनह्यामले १–० गोलअन्तरले हराउँदै चोट दिएको हो । टोलीका प्रमुख खेलाडी ह्यारी केनको अनुपस्थितिमा आफ्नो घरेलु मैदानमा उत्रिएको टोटनह्यामको जितका लागि दक्षिण कोरियाली फरवार्ड सन हेङ मिन नायक बने । उनको एक मात्रै गोलको मद्दतमा टोटनह्यामले गत सिजनको विजेताविरुद्ध स्पष्ट जित निकाल्दै नयाँ सिजनमा सुखद शुरूआतसमेत गर्न सफल भयो ।

चर्को प्रतिस्पर्धा भएको उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुवै टिमले कमै मात्र गोलका अवसर बनाएका थिए । तर, दोस्रो हाफमा भने घरेलु टोलीले खेलको ५५औं मिनेटमा गोलको खडेरी तोड्न सफल भयो । सनले डीबक्स नजिकबाट हानेको शक्तिशाली प्रहारले सोझै सिटीको गोलपोस्टको जाली चुमेको थियो । सनले गोल गरेपछि क्रिस्टियानो रोनाल्डोको स्टाइलमा सेलिब्रेसन गरेका थिए । सन रोनाल्डोलाई आफ्नो आइडल मान्छन् ।

सिटीका दुई जना डिफेन्डरलाई छलाउँदै उनले हानेको प्रहारलाई सिटीका गोलकिपर इमर्सनले रोक्ने कुनै मौका नै पाएनन् । खेलभरिमा सिटीले १८ पटक सट हाने पनि एक गोल पनि फर्काउन नसक्दा अन्ततः टोटनह्यामले सनकै सोही एक गोलको अग्रता बचाएर खेल १–० ले जित्न सफल भयो । यो जितपछि टोटनह्यामले पहिलो खेलबाट ३ अंक जोडेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा वेस्टह्याम युनाइटेडले पनि न्युक्यासल युनाइटेडलाई ४–२ गोलअन्तरले हराउँदै विजयी शुरूवात ग¥यो । खेलमा शुरूवाती अग्रता भने न्युक्यासलले लिएको थियो । खेलको पाँचौं मिनेटमा विल्सनले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । तर, खेलको १८औं मिनेटमा क्रेसवेलले गोल गर्दै वेस्टह्यामलाई खेलमा फर्काए । तर, खेलको ४०औं मिनेटमा मर्फीले गोल गरेपछि पहिलो हाफसम्म न्युक्यासल २–१ ले अघि रहेको थियो ।

दोस्रो हाफमा भने वेस्टह्यामले तीन गोल गर्दै नतिजा नै आफ्नो पक्षमा पार्न सफल भयो । वेस्टह्यामका लागि बेनराहमाले ५३औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यस्तै, खेलको ६३औं मिनेटमा सोउसेकले र ६६औं मिनेटमा एन्टोनियोले एक–एक गोल गरेपछि वेस्टह्यामले जितसहित तीन अंक आफ्नो पोल्टामा पार्न सफल भयो ।