दुवै सदनको अधिवेशन अन्त्य

112
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

संसद् पुनःस्थापना भएपछि २९ दिन बैठक बसी संसद्को चालू आठौं अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य भएको छ । उक्त अवधिमा २० घण्टा १५ मिनेट संसदीय कामकारबाही चलेको थियो भने यस अवधिमा सञ्चालन भएको बैठकमा १ सय ८२ जना सांसदहरूले शून्य समयमा र ५८ जना सांसदहरूले विशेष समयमा आफ्नो धारणा राखेका थिए ।

मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको हो । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसद्का दुवै सदनको चालू अधिवेशन अन्त्य भएको जानकारी दिनुभएको थियो ।

सर्वोच्च अदालतले २८ असारमा पुनःस्थापना गरेको संसद्को पहिलो बैठक साउन ३ गते बसेको थियो । सोही बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुभएको थियो । त्यसयता प्रतिनिधिसभाको बैठक नियमितरूपमा हुँदै आए पनि विधेयक अगाडि बढेको छैन । प्रतिनिधिसभाको बैठकमा सरकारले बजेटलगायतका अध्यादेश पेस गरेको थियो । तर, ती अध्यादेशमाथि पनि छलफल भएको छैन ।

यस अधिवेशनमा आर्थिक अध्यादेश–२०७८, राष्ट्र ऋण उठाउने अध्यादेश–२०७८, विनियोजन अध्यादेश–२०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश–२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ संसद्मा सदनमा प्रस्तुत भए ।

त्यसै गरी, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७८, नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश–२०७८, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश–२०७८, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश–२०७८, रेल्वे अध्यादेश–२०७८ र शपथसम्बन्धी अध्यादेश–२०७८ एवं सातौं अधिवेशनमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश–२०७७ सदनमा प्रस्तुत मात्र भए ।

सातौं अधिवेशनमा नै दर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश–२०७७ गत साउन ३ गते प्रतिनिधिसभाको बैठकमा सरकारबाट फिर्ता भएको जानकारी गराइएको थियो ।

प्रतिनिधिसभाको चालू अधिवेशनमा कुनै पनि नयाँ विधेयक दर्ता भएन भने राष्ट्रिय सभामा उत्पत्ति भई पारित भएर आएका ७ वटा विधेयकसम्बन्धी जानकारी भने उक्त सभाको गराइएको थियो । त्यसै गरी, यस अधिवेशनमा सभाका अघिल्ला अधिवेशनहरूबाट विभिन्न चरणमा रहेका जम्मा ३७ वटा विधेयक प्राप्त भएका थिए । तीमध्ये कारागार विधेयक–२०७६ का सम्बन्धमा सम्बन्धित समितिबाट सभामा प्रतिवेदन पेस भएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको अन्तिम बैठकमा सभामुख सापकोटाद्वारा अफगानिस्तानमा रहेका नेपालीका बारेमा सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको छ ।