अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि वाइडबडी र न्यारोबडी जहाज काबुल उड्दै


काठमाडौं ।

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स  को जहाज केही दिनभित्रै अफगानिस्तानको राजधानी काबुल उड्ने तयारीमा रहेको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमका नेपालीको उद्धारका लागि निगमका जहाज काबुल जाने तयारी अवस्थामा रहेको तर कहिले कसरी जाने भन्ने अझै यकीन भएकाे छैन्  ।उहाँका अनुसार निगमका दुई न्यारोबडी र एक वाइडबडी जहाजमार्फत दुई टिप गरेर नेपालीलाई स्वदेश फर्काइनेछ । अन्य गैरसरकारी संस्थाका कर्मचारीलाई भने निजी क्षेत्रका हवाई सेवा प्रदायकले दुबही हुँदै गन्तव्यमा उद्धार गर्ने जनाइएको छ ।

महाप्रबन्धक पौडलेले पछिल्लो पटक अफगानिस्तानको विमानस्थलमा भिडभाड र अस्थिरता बढेकाले त्यहाँका कतिपय उडान रद्द गरेकाले उद्धारमा केही कठिनाइ हुनसक्ने बताउनुभयो ।“अहिले अफगानिस्तान विमानस्थल अवरुद्ध छ, स्थिति नियन्त्रणमा नआएपछि त्यहाँको हवाई प्रशासनले काबुललगायतका विमानस्थल बन्द गराएको छ । नेपाल सरकार नेपालीको उद्धारको नियमित सम्पर्कमा छ । नेपालीहरु सुरक्षित रहेको जानकारी प्राप्त भएका छन् । निगम उद्धारका लागि तम्तयार अवस्थामा छ”, उहाँले भन्नुभयो ।सरकारले उद्धार गर्नुपर्ने सङ्ख्या यकीन हुनासाथ तत्काल त्यसतर्फ जाने प्रक्रिया आरम्भ गरिने र सोका लागि बढीमा पाँच दिन लाग्ने निगमको भनाइ छ । केही नेपालीलाई रोजगारदाता कम्पनीले नै उद्धार गर्ने बताइएको छ ।

तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षितरूपमा तत्काल उद्धार गर्न कूटनीतिकलगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार भएको बैठकले तालिवान विद्रोही राजधानी काबुल नियन्त्रणमा लिने प्रयासमा रहेकाले भिडन्तका क्रममा नेपाली नागरिक अप्ठ्यारो स्थितिमा पर्नसक्ने भन्दै छिटोभन्दा छिटो हवाई उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले अफगानिस्तानमा भइरहेको घटनालाई केही समयदेखि नियालीरहेको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीलाई सकुशल स्वदेश ल्याउन मन्त्रालयले गम्भीररूपमा प्रयास गरिरहेको बताउनुभएको थियो ।

भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावाससँगको नियमित सम्पर्र्कमा अफगानिस्तानका नेपालीको उद्धारका लागि प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । श्रम स्वीकृत लिएर सङ्गठित तथा औपचारिकरूपमा त्यहाँ गएर रहे बसेका नेपाली एक हजार ५०० को हाराहारीमा रहेको आँकलन गरिएको छ ।

नेपाल तरुण दललगायतका सङ्गठनले पनि अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । यस्तै गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०लगायतका अन्तराष्ट्रिय सम्पर्क सञ्जाल भएका संस्थाले पनि अफगानिस्तानमा रहेका नेपालीको समन्वय र उद्धारमा सहजीकरण गर्ने जनाएका छन् ।