अफगानिस्तानबाट नेपालीहरुलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन


न्युज अफ नेपाल ,काठमाडौं ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल हवाई माध्यमबाट उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले तालिवानले राजधानी काबूल समेत नियन्त्रणमा लिने स्थिति देखिएको हुँदा त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो ।बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले नेपालीहरुबारे बुझ्न, आवश्यकता अनुसारको उद्धारको कार्यका लागि समिति गठन भएको जानकारी दिए ।

काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नरहेका नेपालीलाई सम्पर्क गर्न सूचना जारी गर्ने तयारी गरिएको र आफ्नोबारेमा अनलाइनमार्फत जानकारी गराउन सक्ने व्यवस्था गरिएको उनले बताए ।