बर्षातकै बेला बडम गाउँमा खानेपानीको हाहाकार


राम धामी ,डडेल्धुरा ।

डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका–२ बडम गाउँमा वर्षातको समयमा पनि खानेपानीको हाहाकार मच्चिएको छ ।बडम क्षेत्रका १२ गाउँमा वर्षौदेखि खानेपानीको हाहाकार मच्चिएको हो । वर्षातको यो समयमा गाउँ भन्दा तल रहेका कुवाबाट स्थानीयले खानेपानीको जोहो गरे पनि गर्मीयाममा भने पानीको चरम अभाव भोग्ने गरेका छन । बडमगाउँका १२ वटा वस्तीहरुमा करिब आठ सय घरधुरी छन । १२ वटा वस्तीमध्ये अहिले कुनै पनि वस्तीमा खानेपानीको उचित प्रबन्ध हुन सकेको छैन ।

२०५१ साल र त्यसपछि बनेका खानेपानी योजनाहरु मर्मत सम्भारको अभावमा जिर्ण बन्दा बडम गाउँमा पानीको चरम अभाव चुलिएको हो ।  १५ देखि ३० मिनेटको पैदल दुरीमा रहेका कुवाबाट उकोलो बाटोमा पिठ्युमा पानीका ग्यालेन बोकेर पानीको जोहो गर्नुपर्ने बाध्यता बडम गाउँवासीको छ ।गर्मीयाममा नौलाको पानी सुक्ने भएकाले गाउँभन्दा एक घण्टाको पैदल दुरीमा रहेको रडुवा खोलाबाट पानीको जोहो गर्नुपर्ने बाध्यता बडम गाउँवासीको रहेको स्थानीय पार्वतीदेवी अवस्थीले बताउनु भयो । रातीको १२ बजे सम्म र बिहान ३ बजे देखिनै खानेपानी भर्न कुवामा बस्नुपर्ने वाध्यता रहेको उनले जानकारी दिनुभयो ।२०५१ सालमा पहिलो पटक खानेपानी योजना लागू भई गाउँमा खानेपानी पुगे पनि दुई वर्ष यता धारामा पानी नआएको स्थानीय जग्वा भुलले बताउनुभयो । त्यसपछि २०६९ साल यता गाउँमा आठ वटा धारा बने पनि धारामा पानी नआएको उँहा बताउनु हुन्छ । योजनामा रकम मात्रै आउने तर धारामा पानी नआउदा पानीको हाहाकार भएको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षमा काम सम्पन्न गर्ने लक्ष्यकासाथ बकाल र बडम गाउँलाई सिमोटेर बृहत खानेपानी योजना लागु गरिएको भए पनि ठेकेदारको ढिलासुस्तीका कारण योजना सम्पन्न भएको छैन । एक करोड ९० लाख लागतमा संघीय सरकारको समपुरक बजेटमा बृहत खानेपानी योजना लागू गरिएको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले बताउनु भयो ।कोरोना महामारी र वर्षातका कारण योजना समयमै सम्पन्न नभएको उहाँले जानकारी दिनुभयो । ठेकेदारलाई कडाईका साथ चाडै योजना निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिईसकेको र केही दिनभित्रै योजना सम्पन्न हुने उहाँको भनाई छ । खानेपानीको चरम अभाव झेलिरहेका बडम गाउँका बासिन्दाहरुले पटक पटक योजना माग गरे पनि सुनवाई नभएको स्थानीय अगुवा रामचन्द्र अवस्थीले बताउनु भयो ।