कोरोनाको जोखिम भन्दै मनपरी भाडा असुल्दै, यातायात व्यवसायी


मान्म ।

कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन् ।कालीकोटबाट सुर्खेतको भाडादर रु ८०० भए पनि सुर्खेत आउनका लागि एक व्यक्तिको रु एक हजार ५०० देखि रु तीन हजारसम्म भाडा असुल्ने गरेका छन् । कालीकोटदेखि सुर्खेत जानका लागि कालीकोट नरहरिनाथ गाउँपालिका–९ का अनिल रावलले रु तीन हजार असुल तिरेको बताउनुभयो ।

“कोरोनाका बेला २८ प्रतिशत भाडा वृद्धि गरेको जोड्दा पनि जिपले रु एक हजार २५ लिनुपर्ने हो”, उहाँले भन्नुभयो । कर्णाली करिडोरअन्तर्गत कालीकोटको जितेगडाँडादेखि घाटपारी चौरसम्म जम्मा ३० किलोमिटर सडकखण्डमा लकडाउन अघिसम्म रु ३०० भाडा दर भएकामा गत वर्षको लकडाउनमा रु ५०० र यसवर्ष रु ८०० सवारी भाडा यातायात व्यवसायी आफैले बढाएका छन् ।

सेनाले निर्माण गरेर सो सडक गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरिएको कर्णाली करिडोरमा यात्रुबाहक गाडीले मात्र नभएर मालबाहक मिनी टाटा र ट्याक्टरले पनि मनपरी ढुवानी भाडा असुल्ने गरेको पचालझरना व्यापारी रामबहादुर बोगटीले बताउनुभो ।आफूकहाँ कसैको गुनासो नआएको र छड्के जाँदा पनि यात्रुले भाडा ठिकै लिएको बताउने गरेको ट्राफिक कार्यालयले जनाएको छ । भाडामा मनपरी भएको भन्नेबारे गुनासो सुनिए पनि आधिकारिक जानकारी नआएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो । “अनौपचारिक रुपमा भाडा बढी लिएको गुनासो आउने गरेको छ”, उहाँले भन्नुभयो, “औपचारिक जानकारी आए कारवाही गर्छौं ।”