फुटबलर शान्तालाई सहयोग

846
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

फुटबलर शान्ता नेपालीलाई नेप्लेज डटकमले सञ्चालन गरेको सहयोग अभियानअन्तर्गत शुक्रबार २ लाख ५९ हजार रुपियाँ हस्तान्तरण गरेको छ । तीन साता अघि नेप्लेजले शान्ताको आर्थिक अवस्थाका विषयमा भिडियो तयार पारी युट्युवमा प्रशारण गरेको थियो । उक्त भिडियो सार्वजनिक भएपछि देश विदेशमा रहेका नेपालीहरूले सहयोग गरेका हुन् । शुक्रबार वालिङ नगरपालिकाको सभाहलमा भएको एक समारोहका बीचमा नगरपालिकाका मेयर दिलिप प्रताप खाँडको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

शान्तालाई नेपाली राष्ट्रिय फुटबल टिमका तर्फबाट नगद एक लाख रुपियाँ सहयोग प्राप्त भएको थियो । नगदसहित टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शान्तालाई आगामी दिनको शुभकामना दिएका थिए । यसै गरी युकेमा बस्ने सुनिल प्रधानले गो फन्ड युकेमार्फत सहयोग रकम जुटाउन सहयोग गरेका थिए । उनले सबैसँगबाट एक लाख रुपियाँ सहयोग रकम पठाएका थिए । यसै गरी अस्ट्रेलियाबाट मुकुल क्षेत्रीले व्यक्तिगतरूपमा ५० हजार तीन सय रुपियाँ सहयोग गरेका छन् । शान्तालाई केल्मी नेपालले एक सेट ट्रयाक सुट पनि प्रदान गरेको थियो ।

कार्यक्रममा मेयर खाँडले शान्ताको परिवारलाई नगरपालिकाले पाँच आना जग्गा दिने प्रक्रियाअघि बढाइएको जानकारी दिए । वडा नम्बर ८ का सात परिवारलाई जग्गा दिने प्रक्रिया अघि बढाइएकोमा शान्ताको नाममा मात्रै जग्गा पास हुन बाँकी रहेको बताए । अहिले वालिङ खेल मैदानको छेउमा रहेको शौचालयको छतमा दुई कोठाको बस्ने बासस्थान पाएकी शान्ताको परिवारलाई आफूहरूले आउँदा दिनमा पनि सहयोग गर्ने बताए ।

विगतमा देशभरका स्थानीय तहहरूमा सर्वाधिक खेलकुदमा बजेट विनियोजन गरेको स्मरण गर्दै खेलकुदको विकासका लागि आफूले चाहँदा चाँहदै पनि बजेट खर्च हुन नसकेको पनि बताए । उनले खेलकुदको राम्रो योजना लिएर आउनेलाई आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

यसै गरी नगरपालिकाले खेलाडीका घरपरिवारको एक लाख बराबरको स्वास्थ्य बिमा पनि गरिएको जानकारी दिए ।

कार्यक्रममा स्कुल अफ डेमोक्रेसी संस्थाका स्याङ्जा अध्यक्ष अनुप श्रेष्ठले शान्तालाई नगरपालिकाले दिने पाँच आना जग्गामा दुई कोठे घर आफूहरूले नै निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् ।

सहयोग रकम ग्रहण गरेपछि शान्ताले यो सहयोगले आफूलाई ठूलो सहयोग पुग्ने बताइन् । सहयोगी मनहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ राम्रोसँग खेल्न प्रेरणा मिल्ने बताए ।

कार्यक्रमका सभापति ट्रिनिटी क्लबका अध्यक्ष राजु गुरुङले खेलकुदमा सबैसँगै मिलेर अघि बढ्दा वालिङको नाम चिनाउन सजिलो हुने बताए । राजनीतिक आस्थाका आधारमा भन्दा पनि खेलकुदको भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

पर्वतको मार्दी क्लबलाई पनि सहयोग:

कार्यक्रममा पवर्तको मार्दी क्लबलाई पनि खेल सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि खाँड र सभापति गुरुङले मार्दी क्लबका प्रशिक्षक अविनाश बस्याल (अर्जुन) लाई बल र जर्सी सेट प्रदान गरेका थिए । केल्मी नेपाल र प्रशिक्षक अब्दुल्लाहको तर्फबाट १० वटा बल र १० सेट जर्सी सहयोगका लागि प्राप्त भएको थियो ।