अफगानिस्तानका नेपालीको सुरक्षा


पश्चिमा राज्यहरूको शक्ति संगठन नेटो विशेष गरी अमेरिकी सैनिकले अफगानिस्तान छाडेपछि सो देशमा उत्पन्न खतराले त्यहाँ रहेका नेपालीहरू असुरक्षित हुँदै गएका छन् । अफगानिस्तानमा नेपालीहरूको अवस्था संकटमा पर्न थालेको भए पनि सरकारले यस बारेमा हालसम्म कुनै पनि चासो लिएको छैन । त्यहाँ विद्रोही तालिवान समूहले गरेको क्रियाकलापलाई सरकारले दबाउन खोजे पनि सफलता पाउन सकेको छैन । तालिवान र अफगानी सरकारबीच अझ बढी भिडन्त हुने खतरा अत्यधिक छ । तालिवानको विद्रोह सफल हुँदै गएपछि सरकारले त्यसलाई निस्तेज पार्न थप रणनीति अपनाएका कारण भिडन्त चर्कंदै जाने सम्भावना बढ्दै गएको छ । तालिवान पनि सम्पूर्ण राज्यमा आफ्नो कब्जा जमाउन अग्रसर भइरहेको छ । यस्तो अवस्थामा त्यहाँ रहेका नेपालीहरूको जीवन नै खतरामा परेको महसुस भएको छ । नेपालमा रहेका उनीहरूका आफन्तहरूले यस बारेमा सरकारलाई ध्यानाकर्षण गरी अफगानिस्तानमा रहेका नेपालीहरूको जीवन रक्षाका लागि आह्वान गरेका छन् ।

अफगानिस्तानमा ३४ प्रान्तहरू रहेका छन् । यसमध्ये हालसम्म तालिवानहरूले झण्डै १८ वटामा आफ्नो कब्जा जमाइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । अफगानिस्तामा सरकारी तथ्याङ्कअनुसार १४ हजार ५ सय ६५ नेपाली छन् । तर, कतिपय लुकिछिपी त्यहाँ पुगेका कारण सो संख्याभन्दा निकै ठूलो परिमाणमा नेपालीहरू अफगानिस्तानमा रहेका बताइन्छ । कुन प्रान्तमा कति नेपाली छन् भन्नेमा पनि यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन । तर, पनि त्यहाँ रहेकामध्ये अधिकांश नेपालीले सुरक्षा गार्डको रूपमा कार्य गर्ने गरेको बताइन्छ । तालिवान समूहले सम्पूर्ण राज्य कब्जा गर्ने रणनीति लिएको र त्यहाँको सरकारले पनि विद्रोहीलाई दबाउने नै प्रयत्न गरेका कारण संघर्ष लामो समयसम्म चल्ने आँकलन गरिएको छ । यस्तो अवस्थामा त्यहाँका नेपालीहरूको जीवन जोखिममा रहने क्रम यथावत रहने छ । यस बारेमा सम्बन्धित क्षेत्रबाट हालसम्म केही पनि कदम नचालेको देख्दा सबै क्षेत्रबाट सरकारको आलोचना हुन थालेको छ । अफगानिस्तानमा विद्रोह चर्केको धेरै समय भइसक्दा पनि सरकारले त्यहाँका नेपालीहरूलाई उद्धार गर्न तदारुकता नदेखाउँदा सरकार आफ्ना नागरिकप्रति सचेत छैन कि भन्ने पनि आशंका हुनु स्वाभाविकै हो । नेपाली जनता संसारको जुनसुकै ठाउँमा रहे–भए पनि उनीहरूको अवस्थाको बारेमा सधैं चासो राख्नु सरकारको कर्तव्य तथा दायित्व हुन्छ । अझ संकटमा रहेका नेपालीलाई जति सक्दो चाँडो सकुशल उतार्नु सरकारको अझ बढी कर्तव्य हुन आउँछ । अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न सरकारले हालसम्म चासो नदिनु दुःखको कुरा हो नै । छिमेकी भारत र अन्य मुलुकले अफगानिस्तानमा रहेका आफ्ना नागरिकप्रति चासो दिई उनीहरूलाई उद्धार गर्ने प्रक्रिया अवलम्बन गरिसकेका छन् । नेपाल सरकारले भने यसबारेमा प्रारम्भिक कदम पनि चालेको छैन ।

अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न ढिलाई भइसकेको महसुस गर्न थालिएको छ । कुनै अप्रिय घटना हुनुभन्दा अघि नै नेपालीहरूलाई के कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा सरकारले चाँडोभन्दा चाँडो निर्णय गरी उचित कदम चालिहाल्नुपर्छ । त्यहाँ रहेका नेपालीलाई कुनै प्रकारको क्षति नपुगोस् भनेर सरकारले ठोस कदम चाल्ने बेला भइसकेको छ ।