जनताले सुन दिएर बनाएको मन्दिरमा पाटनबासीको विवाद

5.3k
Shares

सुनील महर्जन, ललितपुर ।

‘गोल्डेन टेम्पल’ का नामले प्रसिद्ध हिरण्यवर्ण महाविहारको पुनर्निर्माणका लागि बाह्य सहयोग लिने कि नलिने भन्ने विषयमा पाटनवासीबीच विवाद सिर्जना भएको छ ।

झन्डै २ हजार वर्ष पुरानो हिरण्यवर्ण महाविहारको निर्माणमा स्वदेशी तथा विदेशी बौद्ध धर्मावलम्बीले ठूलो परिमाणमा सुन चन्दा दिएको इतिहास छ । २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएपछि रेक्टोफिटिङका लागि बाह्य सहयोग लिने कि नलिने भन्ने विषयमा पाठनवासीबीच विवाद सिर्जना भएको हो ।

महाविहारको शाक्यमुनि बुद्धको मन्दिर परिसरको पाँचवटै देव–घर प्रबलीकरण प्रविधिको प्रयोग गरी मजबुत बनाउन लागिएको हिरण्यवर्ण महाविहार सुधार समितिले जनाएको छ । ऐतिहासिक दृष्टिले मात्र नभई मूर्त, अर्मूत संस्कृति, संस्कार, परम्परा एवं धार्मिक आस्थाका दृष्टिले पनि सो महाविहार विशिष्ट महत्वको रहेकाले नेपालीकै सहयोगमा पुनर्निर्माण हुनुपर्ने धारणा एकथरिको छ । तर, छिमेकी भारतले यसको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यो सहयोग लिनुपर्ने अर्काथरीको भनाइ छ ।

भूकम्पले क्षति पुर्‍याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनःस्थापनाका लागि भारत सरकारले ५ करोड अमेरिकी डलर बराबर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको र त्यसमा यो विहार पनि परेको अवस्था छ ।

ललितपुरमा सातवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ, जसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको छ ।

महाविहारको मुख्य मन्दिर (क्वाबहाः देग) प्रबलीकरण कार्य सम्पन्न भइसकेको छ । मन्दिर परिसरको रेट्रोफिटिङका लागि समितिले ललितपुर विकासका लागि समाजमार्फत राष्ट्रिय पुनर्निर्माणको स्वीकृति लिएर भारतीय सहयोगका लागि पाँच वर्ष अघिदेखि प्रक्रिया थालनी गरिएको थियो ।

शाक्यमुनि बुद्धको दायाँ भागमा रहेको अमिताभ तथा बायाँमा रहेको बज्रसत्व र ओमघपास लोकेश्वर विराजमान भएको गुम्बा, अगाडि वा पूर्वतर्फ रहेको योगाम्बरको द्यछें (देवता घर) र दक्षितर्फको अभिताम, दीपंकर र लोकेश्वर देवता रहेको घरको छाना र विहारपछाडि रहेको चक्रसंवरको दिगीछें प्रबलीकरण गर्न लागिएको हो । जमिन सतहबाट काठ ठड्याएर प्रबलीकरण गरी माथिल्लो छानो जीर्णोद्धार गरिने हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष विकासरत्न धाख्वाले बताउनुभयो । यसका लागि बौद्ध परम्पराअनुसार यही श्रावण १४ गते क्षमापूजा पनि गरिसकेको छ ।

‘परिसरको मूलस्वरूप, त्यहाँको भित्तामा रहेका कलात्मक चित्र, मूर्तिलगायत सबै क्षति नहुने गरी प्रबलीकरण गर्न लागेका हौं ।’ –समितिका अध्यक्ष धाख्वाले भन्नुभयो । अध्यक्ष धाख्वाका अनुसार मन्दिरको उत्तरतर्फ जोडिएको बज्रसत्व, ओमघपास लोकेश्वर रहेको गुम्बा, पूर्वतर्फको योगाम्बर द्यछें क्षतिग्रस्त छ ।

‘परिसरको विभिन्न भाग चर्किएकाले भित्ताले थेग्न सकिरहेको छैन । यसले गर्दा झिँगटीको छाना फेरेर तामाको छाना छाउनेछौं । परिसरको झ्याल, ढोका र बाहिरको स्वरूप नेपालको मौलिक कलाकृति झल्किने गरी बनाउनेछांै ।’ –अध्यक्ष धाख्वाले भन्नुभयो । सो कार्यको लागत १८ करोड १६ लाख रुपियाँ रहेको छ । सो कार्यको टेन्डर पचली भैरव जेभी कम्पनीले प्राप्त गरेको छ ।

सयौं वर्ष पुरानो सम्पदा जनस्तर र स्वदेशी खर्चबाट बनाउनुपर्ने विषयमा जनस्तरमा आवाज उठिरहेको उल्लेख गर्दै समितिका कोषाध्यक्ष किरणनरसिंह शाक्यले भन्नुभयो– ‘हाम्रो सम्पदा, हामी आफै बनाउँछौं भन्ने भाव राम्रो हो । यस प्रकारको भावना देखाउने धेरै छन् ।’ ‘तर, चन्दा संकलन गरेर मात्र यति रकम जम्मा पार्न सकिन्न । न स्थानीय तहले सम्पदा पुनर्निर्माणलाई प्राथमिकतामा राखेको छ । न संघीय सरकार नै यसप्रति संवेदनशील छ । त्यस्तो अवस्थामा छिमेकी राष्ट्रको सहयोग लिएर प्रबलीकरण गर्नुको अर्को विकल्प हामीसँंग छैन ।’ –उहाँको निष्कर्ष छ ।

विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा जति पनि सम्पदा पुनर्निर्माण भएका छन् आखिर कुनै न कुनै विदेशी राष्ट्रको सहयोग लिएर बनिरहेको जनाउँदै कोषाध्यक्ष शाक्यले भन्नुभयो– ‘स्थानीय तहले सम्पदा पुनर्निर्माणलाई प्राथमिकतामा राखेको छैन ।

यस्तो अवस्थामा छिमेकी राष्ट्रले सदाशयतापूर्वक प्रबलीकरणका लागि गर्न लागेको सहयोगलाई स्वीकार गर्नु बुद्धिमानी हुन्छ ।’
‘यत्रो वर्ष पुरानो सम्पदा संघ, प्रदेश र स्थानीय तहसँंगै जनताको सहयोगबाट बनाउन सकिन्छ । बनाउन पहल गर्नुपर्दछ ।’ –जनस्तरबाट सम्पदा बनाउनका लागि समितिको ध्यानाकर्षण गराउन सरोकारवालाको संयोजन गर्दै आउनुभएका विश्वन्तर शाक्यले भन्नुभयो ।