डा. शर्मा र शाक्यलाई आजीवन तथा प्रा.डा. मिश्रलाई मानार्थ प्राज्ञ सदस्यता



काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ साधक डा. तारानाथ शर्मा र वरिष्ठ कवि नरेश शाक्य (नरेशकुमार शाक्य)लाई आजीवन सदस्यता प्रदान गर्ने भएको छ ।

विगत सात दशकदेखि साधनारत रही नेपाली साहित्यअन्तर्गत निबन्ध-नियात्रा, कथा र उपन्याससृजना तथा समालोचनाका साथै भाषा–व्याकरणका क्षेत्रमा अध्ययन-अनुसन्धान, सम्पादन एवम् प्रकाशनका माध्यमबाट विशिष्ट योगदान गर्नुभएका वरिष्ठ साधक प्रा.डा. तारानाथ शर्मालाई र नेपाली कविता-काव्य साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गर्नुभएका शाक्यलाई प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरिएको हो ।

यसै गरी र दर्शनशास्त्रका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही अध्ययन-अनुसन्धान, प्रकाशन र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गर्नुभएका वरिष्ठ साधक प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रलाई प्रज्ञा–प्रतिष्ठानको मानार्थ प्राज्ञ सदस्यता प्रदान गर्ने निर्णय गरिएको छ ।आजीवन सदस्य तथा मानार्थ प्राज्ञ सदस्य सिफारिसका निम्ति योग्यतम र वरिष्ठ साधक छनोट गरी सिफारिस गर्न कुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा उपकुलपति डा. जगमान गुरुङको संयोजकत्वमा प्राज्ञ परिषद् सदस्य प्रा.दिनेशराज पन्त र प्रा.डा. उषा ठाकुर सदस्य रहेको सिफारिस समिति गठन गरिएको थियो । सोही सिफारिसका आधारमा नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद्को बैठकले आजीवन तथा मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्