सिंहदरबार ‘गाउँमा आयो’ तर बैंक आएन

168
Shares

दीपेन्द्र शर्मा, सुर्खेत/ वासुदेव शर्मा, जाजरकोट ।

जिल्लाको जुनिचाँदे गाँउपालिकामा अध्यक्ष, सदस्य, सचिव सबै छन्, विगतमा जिल्लामा पुगेर गर्नुपर्ने कतिपय काम गाउँपालिका कार्यालयमै हुन पनि थालेका छन् । त्यसैले ‘सिंहदरबार गाउँमा’ भन्ने नारा पनि पूरा भएजस्तो लाग्छ । तर, गाउँपालिकामा कुनै बैंक स्थापना हुन सकेन ।

बैंक नहुँदा सेवाग्राही सदरमुकाम धाउन बाध्य छन् । गाँउपालिका तथा प्रदेश र संघीय सरकारद्वारा जुनिचाँदेमा सञ्चालन भएका योजना तथा कार्यक्रमहरूको रकम निकासा लिन अझै पनि सदरमुकाम खलंगा धाउनुको विकल्प छैन ।

गाँउपालिकामा सञ्चालन हुने विभिन्न आयोजनाको रकम निकासा, कर्मचारी तलबभत्ता, सामाजिक सुरक्षा भत्तालगायतको रकम निकाल्न दुई दिन पैदल हिडेर खलंगा बजार पुग्नुपर्छ । बैंक नहुदा सबैभन्दा धेरै समस्या सामाजिक सुरक्षाको भत्ता वितरणमा हुनेगरेको छ । गाँउपालिकाले हालसम्म नगदै घरमै गएर बुझाउथ्यो, तर भर्खरै बैंकिङ प्रणालीमार्फत दिन संघीय सरकारबाट परिपत्र आएको छ । यसले गर्दा ज्येष्ठ नागरिकहरूलाई समस्या भएको छ । सम्बन्धित व्यक्ति नै बैंकमा उपस्थित हुनुपर्ने भएकोले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति बढी समस्यामा परेका छन् ।

जुनिचाँदेको केन्द्र कहाँ रहने भन्ने विवाद अहिलेसम्म सुल्झन नसकेकोले जुनिचाँदे गाँउपालिकामा बैंक आउन नसकेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् । राष्ट्र बैंकले जुनी चाँदेमा कृषि विकास बैंकको शाखा स्थापना गर्ने निर्णय गरेको थियो । तर, सुरक्षा र केन्द्रको स्थायित्वको कारण दर्शाउँदै बैंक जान नमानेपछि सर्वसाधारण मारमा परेका हुन् । ‘वोर्ड टाँसेर बैंकको औपचारिक उद्घाटन गरिएको पनि हो, कृषि विकास बैंक रहने भनिएको पनि हो, तर विवादका कारण बैंक जिल्लामै अड्क्यो’ स्थानीय समाजसेवी विनायक पौडेल बताउनुहुन्छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बैंकसँंग समन्वय गरेर एक हजार दुई सय जनाको फाराम ल्याएर खाता खोलिएको रोजगार संयोजक धनबहादुर बस्नेतले बताउनुभयो ।

बस्नेतका अनुसार प्रधानमन्त्री रोजगारको पैसाको निकासा असार अन्तिमतिर आउँदा सबै नागरिकहरू खलंगा जानुपर्ने भयो । गाउँमा बैक नहुँदा महँगो भाडा तिरेर खलंगा जान बाध्य भएको उहाँले बताउनुभयो ।

जिल्ला सदरमुकाम जान नियमित गाडी पाइन्न, पैदलै हिंड्नुपर्छ तर कहिलेकाहीं गाडी पाइएमा महँगो भाडा तिर्नुपर्छ । १६ हजार रुपियाँ तिरेर गाडी रिजर्ब गर्नुपरेको अनुभव स्थानीयवासीको छ ।

बैंक गाँउमा नहुँदा प्रधानमन्त्री रोजगार कार्यक्रमको मात्रै ६० लाख रुपियाँ गाडी भाडामा खर्च भएको बस्नेतले बताउनुभयो । मंसिर देखिको सामाजिक सुरक्षाको रकम सम्बन्धित व्यक्तिको खातामा जानेगरी जम्मा गर्ने नभए नेपाल सरकारबाट आउने अनुदान घटाउने संघीय सरकारले परिपत्र जारी गरेको छ ।

बैंक नहुँदा सामान्य खर्च चलाउनका लागि पनि रकम निकाल्न खलंगा जानुपरेको जुनिचाँदे ३ परालेका लालवहादुर शाहीले बताउनुभयो, “गाँउमा धेरै पैसा राख्ने मान्छे कमै हुन्छन् त्यसैले अधिकांश कारोबार गर्न सदरमुकाम खलंगामा जानुपर्छ ।”

‘मेरो घरमा ८४ वर्षको आमा हुनुहुन्छ, बैंक खाता खोल्न बोकेर वर्षातको समयमा खलंगा जानुपर्ने समस्या छ’– उहाँले गुनासो गर्नुभयो ।
जुनिचाँदे मेसुका सत्यनारायण बस्नेतले प्रश्न गर्नुभयो– ‘पहिला गाउँ विकास समिति हुँदा जसरी सदरमुकाम गएर आर्थिक कारोबार गरिन्थ्यो, अहिले पनि उस्तै भएपछि सिंहदरबार कसरी गाउँमा आयो त ?’

जुनिचाँदे गाँउपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्यलले गाँउपालिकाको प्रशासनिक केन्द्रको विवाद सर्वाेच्व अदालतमा पुगेकोले निर्णयको प्रतीक्षामा बस्नुको विकल्प नभएको बताउनुभयो । गाँउपालिका कायम गर्दा नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेर तोकेको अस्थायी केन्द्र मजकोटको परालेबाट कामकाज गरिरहेको आर्चायले जानकारी दिनुभयो ।

गाँउपालिको केन्द्र तथा बैंकको सुरक्षाका लागि गृह मन्त्रालयले प्रहरी चौकी स्थापना गर्ने निर्णय लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताउनुभयो । उक्त प्रहरी चौकीका लागि १३ जना प्रहरी जनशक्ति खटाउने गरी निर्णय भएको प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो ।